चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण विश्वभर ३३ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने २ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
सबैभन्दा बढी पीडित अमेरिका छ । अमेरिकामा करिब ११ लाख संक्रमित छन् भने लगभग ६४ हजारको ज्यान गएको छ । चीनमा ४ हजार ६ सय ३३ जनाको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समयअघि कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि उनको खुबै आलोचना भएको थियो । चीनले लापरबाही गरेको आरोप अमेरिकाले बारम्बार लगाउँदै आएको छ ।
हालसालै चीनले एउटा कार्टुन भिडियो बनाएर सार्वजनिक गरेको छ जसमा अमेरिकाले कोरोना भाइरसको महामारीबारे सावधानी अपनाउन दिइएको सुझाव नमानेको दावी गरिएको छ । फ्रान्सका लागि चिनियाँ राजदुतावासले बिहीबार ट्विटरमा उक्त भिडियो पोष्ट गरेको छ । ‘वन्स अपन अ भाइरस’ भिडियोको शीर्षक दिएर चीनले आफ्नो देशमा कोरोना भाइरस एकादेशको कथाजस्तै भएको संकेत गर्न खोजेको छ ।
भिडियोमा महामारीको घटनाक्रम देखाउनुका साथै कार्टुनमार्फत चीन र अमेरिकाले एकअर्कालाई आरोपप्रत्यारोप गरिरहेको देखाइएको छ । त्यसमा चीनले जनवरीमा नयाँ भाइरस आएकोबारे अमेरिकालाई जानकारी गराएको तर वासिङ्टनले वास्ता नगरेको देखाइएको छ ।
एक मिनेट ३९ सेकेन्ड लामो भिडियोमा चीनले जनवरीमा लकडाउनको घोषणा गर्दा अमेरिकाले ‘बार्बरिक’ निर्णय भनेर बोलेको देखिन्छ । त्यतिमात्र होइन, अमेरिकाले चीनलाई मानव अधिकार उल्लंघन गरेको भनि पटकपटक आरोप लगाइरहेको भिडियोमा देख्न सकिन्छ । भिडियोको अन्तिमतिर अमेरिकाले आफुहरु विरोधाभाषपूर्ण भएपनि सँधै सही भएको भनेको देखिन्छ ।
Once Upon a Virus… pic.twitter.com/FY0svfEKc6
— Ambassade de Chine en France (@AmbassadeChine) April 30, 2020