विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५७० पुगेको छ । यो महामारीबाट ३४ लाख २७८ जना मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८० हजार १०१ जना मानिस उपचारपछि निको भइ घर फर्केका छन् ।
शनिबार बिहान यो समाचार तयार पार्दासम्म २० लाख ७८ हजार ९१४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये ५१ हजार ३५५ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ५ हजार ६१९ जनाको मृत्यु भएको छ भने ९४ हजार ५३७ जना संक्रमित भएका छन् ।
कोरोना भाइरसको महामारीले सबैभन्दा धेरै क्षति पुर्याएको अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६५ हजार नाघेको छ । शुक्रबार १ हजार ८९२ जनाको मृत्यु भएसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६५ हजार ७४८ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ९९२ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ११ लाख ३१ हजार १५ पुगेको छ ।
अमेरिकामा संक्रमितमध्ये १ लाख ६१ हजार ५५१ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ९ लाख ३ हजार ७१४ जनामध्ये १६ हजार ४८१ जनाको अवस्था गम्भीर रहेको छ ।
नेपालमा भने ५९ जनामा संक्रमण देखिएकोमा १६ जना उपचारपछि घर फर्किएका छन् ।