प्रधानमन्त्रीले पार्टी विभाजनमा जान रोक्नुभयो, अब प्रचण्ड थप बलियो बन्‍नुहुनेछ: खनाल

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनमा जानबाट रोक्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । शनिबारको बैठकमा प्रधानमन्त्री ओली पार्टीको भावनात्मक, कार्यशैलीगत एकताको योजनासहित प्रस्तुत भएको र त्यसले पार्टी आन्दोलनमा नयाँ तरङ्ग पैदा गरेको खनालको दाबी छ ।

‘नेकपाभित्र जेजस्ता विवाद देखा परेका थिए । ती विवाद समाधान भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आत्मआलोचना सहित प्रस्तुत हुनुभएको थियो । कमीकमजोरी सुधारेर पार्टीलाई अझ एकताबद्ध बनाउन भूमिका खेल्छु भनेर बैठकमा प्रतिबद्धता जाहेर गर्नुभएको छ । सरकारको कामको थप समीक्षा गरेर कमजोरी सच्चाएर अघि बढ्न तयार रहको बताउनुभयो, हामीले स्वागत गर्‍यौं,’ उनले भने ।



पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार प्रयोग गर्न पाउने दाबी गरेका छन् । आजको बैठकले मंसिर ४ गतेको निर्णय कार्यान्वयन गर्न टेवा पुर्‍याएको उनले बताए । त्यस दिनको बैठकले ओलीमा निहीत कार्यकारी अधिकार प्रचण्डलाई प्रत्यायोजन गरेको थियो ।

‘पार्टी, बैठक सञ्‍चालनका विषयमा अतिरिक्त निर्णय त भएको छैन । तर, आजको बैठकपछि उहाँ कार्यकारी प्रमुख बलियो भएर जानुहुन्छ,’ खनालले विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार