मदिरा किन्न एक किलोमिटरसम्मको लाइन

दिल्लीमा सोमबारदेखि खुलेका मदिरा पसलमा मानिसको घुइँचो देखिएको छ । हिन्दुस्तान टाइम्सका अनुसार मदिरा पसलहरुमा एक किलोमिटरसम्म मानिसको लाइन देखिएको छ ।

पसलमा एक पटकमा पाँच जनाभन्दा बढी रहन नपाउने नियमबाबजुत मानिसहरुले कोरोना भाइरस संक्रमणविरुद्धका सामान्य सावधानीसमेत नअपनाइरहेको जनाइएको छ। दिल्लीको देशबन्धु गुप्ता रोडमा रहेको मदिरा पसलमा मानिसहरुको लामो लाइन र भिड देखिएको छ ।



केही मदिरा पसलहरुको ग्राहकको भिडपछि खुलेको केही घण्टामै बन्द भएका थिए । कोरोना भाइरसको जोखिम नरहेका दिल्लीका क्षेत्रहरुमा ४ सय ५० वटा मदिरा पसल खुल्न दिइएको भारतीय समाचार संस्था पीटिआईले जनाएको छ।

दिल्लीका सबै ११ जिल्ला कोरोना भाइरसको ‘रेड’ जोनमा छन् । मलहरुका मदिरा पसलहरु भने खुलेका छैनन् । दिल्लीमा पाँच सय ४५ वटा मदिरा पसल छन्। दिल्ली सरकारले केन्द्रीय सरकारको अनुमतिपछि खुल्न दिन मिल्ने मदिरा पसलको सूची तयार गरेको हो ।

भारतको केन्द्रीय सरकारले केही दिनअघि मे १८ तारिकसम्म देशब्यापी लकडाउन लम्ब्याउने निर्णय गरेको थियो । पीटिआईका अनुसार दिल्लीमा ‘ग्रिन’ र ‘ओरेन्ज’ क्षेत्रसँगै रेड जोनका हटस्पटबाहेकका क्षेत्रमा मदिरा पसल र सुर्तिजन्य सामग्रीका पसलहरु खुल्न दिइएको छ ।

सम्बन्धित समाचार