कोरोना संक्रमित बढेपछि नेपालगञ्जमा कर्फ्यू आदेश जारी

कोरोना भाइरसका संक्रमितहरु बढेपछि बाँकेको नेपालगञ्जमा निषेधाज्ञा (कर्फ्यू आदेश) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा लागू हुने गरी कर्फ्यू आदेश जारी गरेको हो ।

मंगलबार बिहान ६ बजेदेखि वैशाख २५ गते (विहीबार) मध्यराति सम्मका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।



‘कोरोना संक्रमितहरु बढेपछि थप व्यक्तिमा संक्रमण नफैलियोस् भनेर भोलि (मंगलबार)देखि लागू हुने गरी कर्फ्यू आदेश जारी भएको हो,’ उपाध्यायले भने, ‘मंगलबारदेखि बिहीबार मध्यरातिसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।’

कर्फ्यू आदेश जारी भएपछि कुनै पनि व्यक्तिले बाहिर निस्किन पाउने छैनन् । बाहिर निस्केका जुनसुकै व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गरी कानूनानुसार कारबाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले जानकारी दिए । बाँकेको नेपालगञ्जमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार