नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेता झलनाथ खनालसँग पछिल्लो राजनीति घटनाक्रमबारे परामर्श लिएका छन् । भेटमा प्रधानमन्त्री ओली पछिल्लो राजनीति घटनाक्रमलाई लिएर चिन्ताग्रस्त रहेकाले चिन्ता नलिन सुझाव दिएको खनालले बताएका छन् ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेता खनालले प्रधानमन्त्री तनावयुक्त मुद्रामा रहेको बताएका हुन् । नेता खनालले प्रधानमन्त्री ओली स्थायी कमिटी बैठकले आफूलाई सरकारबाट फिर्ता बोलाउने आशंकामा चिन्तित रहेको र आफूले उत्तेजनामा नआउन आग्रह गरेको बताए ।
‘आफूलाई हटाउन प्रयत्न भइरहेको छ भन्ने कुरामा अलि उद्धेलित हुनुहुन्थ्यो । तर मैले यसरी उत्तेजनामा आउनु हुँदैन संयम हुनुपर्छ, धैर्यशील हुनुपर्छ र पार्टीभन्दा माथि कोही पनि छैन भनेर समेत भनेको छु,’ खनालले भने, ‘उहाँ अलि बढी चिन्तित, तनावयुक्त मुद्रामा हुनुहुन्थ्यो । चिन्तित र तनावयुक्त हुनुपर्ने कुनै कारण छैन । पार्टीका निर्णय, नीतिहरू सबैलाई सम्मान गर्नुपर्छ, आत्मसात, शिरोपर गर्नुपर्छ । त्यसले मात्रै आजका समस्याहरू समाधान गरेर अगाडि बढ्न सक्छौं भनेर भनें ।’