कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समितिको संयोजकमा डा. महत

नेपाली कांग्रेस केन्द्रीय समितिको बुधबार पार्टी कार्यलय सानेपामा सम्पन्न बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असरका बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ पनि गठन गरेका छन् ।

विगतमा अर्थमन्त्री र राज्यमन्त्रीको जिम्मेवारी सम्हाली सकेका, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्षसमेत रहेर विगतमा नेतृत्व गरिसकेका नेताहरू समितिमा रहने गरी गठित समितिको संयोजकको जिम्मेवारी भूतपूर्व अर्थमन्त्री एवं केन्द्रीय सदस्य डा.रामशरण महतलाई दिइएको छ ।



यसैगरी समितिमा भूतपूर्व अर्थमन्त्री एवं केन्द्रिय सदस्यद्वय महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यहरू डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ भूतपूर्व अर्थराज्य मन्त्रीहरू दीपकुमार उपाध्याय, भरत शाह, उदयशमशेर राणा, राष्ट्रिय योजना आयोगमा उपाध्यक्षहरू डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल ,डा. गोविन्द पोख्रेल ,डा. स्वर्णिम वाग्ले सदस्य रहेका छन् ।

समितिले तत्कालीन रूपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रूपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार