सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा कृषिमन्त्री घनश्याम भुषालले पार्टी नीति र विधानअनुसार चल्नुपर्ने बताएका छन् । उनले पार्टीको विधानअनुसार अब एक व्यक्ति, एक प्रमुख जिम्मेवारीलाई कार्यान्वयन गर्नुपर्ने पनि माग गरेका छन । उनले एक व्यक्ति, एक पद प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको हकमा पनि लागू हुने स्पष्ट पारे ।
उनले पार्टीभित्रको द्वन्द्व हल हुनुपर्ने बताए । मन्त्री भुषालले भने-‘हामी पार्टी फुटाउन दिँदैनौं । बाहिर धेरै चिन्ता नगर्नुहोस, म छु चिन्ता गर्ने ।’ उनले पार्टीको स्थायी कमिटी बैठक जतिसक्दो चाँडो राख्नुपर्ने धारणा राखेका छन् ।
उनले भने,’अहिले देखिएका कुरा स्थायी कमिटी बैठकमा छलफल हुनुपर्छ । सचिवालयले सकेन भने स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीसम्म जानुपर्छ ।’ फरक प्रसँगमा उनले आर्थिक वर्ष २०७७-०७८ को बजेटमा किसानलाई विशेष राहत दिनेगरि अहिले नै व्यवस्था गर्न लागेको पनि जनाए ।