भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेप्रति आफूले अध्ययन गर्न नपाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । उनले भने, ‘भारतले मार्ग खोल्यो भन्ने आएको छ । मैले यो विषयमा अध्ययन गर्न पाएको छैन । अध्ययन गरेपछि मात्रै बताउँछु ।’
उक्त सडकमार्गको भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै भारतीय रक्षामन्त्री राजनाथ सिंहले ट्विटमार्फत ‘मानसरोवर जाने लिंह रोडको उद्घाटन गर्न पाउँदा खुसी लागेको छ । बोर्डर रोड अर्गनाइजेसन (बीआरओ)ले धार्चुलादेखि लिपुलेक जोड्ने उपलब्धि हासिल गरेको छ । भिडियो कन्फरेन्समार्फत उत्तराखण्डको पिथोरागढदेखि दार्चुलाको गुन्जीसम्म सवारीको जत्था प्रस्थान गरेको’ बताएका थिए ।
३ नोभेम्बर, २०१९ मा भारतले काश्मीरको विषय आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी वैधानिक रुपमा आफ्नो बनाएको थियो । तर, नेपालका सीमा विज्ञहरुले भने नेपाली भूमि नेपालले फिर्ता लिनुपर्ने र यसमा सरकार बलियो भएर उभिनुपर्ने बताएका छन् ।
सरकारले त्यसबेला भारतीय नक्साको विषय कूटनीतिक तवरमा समाधान गरिने प्रतिबद्धता व्यक्त गर्दै जनआक्रोश शान्त पारेको थियो । नेपालले उक्त नक्सा परिमार्जनका विषयमा छलफल गर्न आग्रह गर्दै भारत सरकारलाई पत्र पठाएको बताएपनि त्यसमा आशंका पैदा भएको छ ।