भारतले नेपाली भूमिमा सडक बनाएको विषयमा छलफल गर्न बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले स्पष्ट निर्णय नगरेपछि बैठकमा विवाद भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित छलफलका लागि बोलाइएको बैठकमा समितिले कुनै निर्णय नगरेपछि विवाद भएको हो ।
परराष्ट्रमन्त्री बोल्दाबोल्दै नेकपाका सांसद रावलले परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्रीको हस्ताक्षर किन आउँदैन ? बैठकमा मन्त्रीले आउँदिन भन्न मिल्छ ? भन्ने प्रश्न गरेका थिए ।
‘म प्रश्न गर्न चाहन्छु, परराष्ट्र (मन्त्रालय)ले जारी गरेको विज्ञप्तिमा कुनै व्यक्तिको हस्ताक्षर किन छैन ? अरु देशले वक्तव्य जारी गर्दा आफ्ना प्रवक्तामार्फत् सञ्चार माध्यमलाई जानकारी दिन्छन् । यस्तो बेवारिसे वक्तव्य जारी गर्ने अनि भोलि बैठकमा आउँदिन भन्न मिल्छ ?’ सांसद रावलले एकैपटक दुई प्रश्न गरे ।
हस्ताक्षर किन आउँदैन भन्ने प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय अभ्यास हेर्न रावललाई सुझाव दिए । ‘डिप्लोमेटिक स्टेटमेन्ट, करेस्पोन्डेन्ट एक पटक हेरिदिनुभयो भने यो प्रश्न उठ्दैन’ उनले भने ‘त्यही वक्तव्यका आधारमा भारतले वक्तव्य दिइसक्यो । हामी यसलाई बेबारिस भन्छौं ।’ यसबारे अन्न्तर्राष्ट्रिय अभ्यासहरु गुगलमा पनि हेर्न सकिने उनले बताए ।