कोरोना भाइरसले आफ्नो स्वरुप परिवर्तन गर्दैछ

कोरोना भाइरसका केही उपप्रजातिहरुले आफूलाई उत्परिवर्तन गरी मानव शरीरमा बिस्तार हुने गरी आफूलाई रुपान्तरण गरेको प्रमाण वैज्ञानिकले फेला पारेका छन् । वैज्ञानिकहरुले विश्वका ६२ देशबाट कोरोना भाइरसका ५३ सय भन्दा बढी जिनोमको विश्लेषण गरेका हुन् । अधिकांश भाइरस स्थिर रहे पनि केही उपप्रजातिहरुले उत्परिवर्तन गरी मानव शरीरमा अनुकूलित भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

कोरोना भाइरसका केही उपप्रजातिले दुईवटा आनुवंशिक परिवर्तन गरेको देखिएको छ । यसरी अनुवंशिक परिवर्तन गरेका भाइरसमा प्रोटिनको मात्रा वृद्धि भएको देखिएको वैज्ञानिकले बताएका छन् । भाइरसले प्रोटिन वृद्धिका लागि मानिसको संक्रमित कोष प्रयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।



लण्डन स्कूल अफ हाइजेन एण्ड ट्रपिकल मेडिसनका अनुसन्धानकर्ताले उत्परिवर्तनबाट भाइरसमा कस्तो प्रभाव परेको छ भन्ने स्पष्ट नभएको बताएका छन् । तर त्यस्तो उत्परिवर्तनले कोरोना भाइरसलाई अझ सहज रुपमा फैलिन सक्ने बनाउने सम्भावना रहेको अनुसन्धानमा संलग्न इमर्जिङ्ग इम्फेक्सस डिजिजका प्राध्यापक मार्टिन हिबेर्डले बताए ।

विश्वव्यापी रुपमा नै कोरोना भाइरसको प्रकृति र त्यसको उत्परिवर्तनबारे अति चनाखो भएर निगरानी गर्नु पर्ने देखिएको उनको भनाइ छ । उनले भनेका छन्, ‘सबैको ध्यान खोप बनाउने तर्फ केन्द्रित भएको छ । भाइरसमा भइरहेको उत्परिवर्तन र त्यसबाट उनीहरुको प्रोटिनको मात्रा थपिएको तर्फ पनि चनाखो भएर नियमित निगरानी गर्नु पर्ने हुन्छ ।’

प्रोटिनमा वृद्धि हुँदा कोरोना भाइरस सार्स भन्दा पनि सहज रुपमा मानव शरीरमा अनुकुलित हुने देखिएको वैज्ञानिकको भनाई छ । सुरुवाति चरणमा भन्दा पछिल्लो समय कोरोना भाइरस तीव्र गतिमा फैलिनुको कारण उसमा आएको उत्परिवर्तन हुन सक्ने देखिएको वैज्ञानिकहरुले बताएका छन् ।

उत्परिवर्तनको क्रम जारी रहेमा भाइरसले आफ्नो व्यवहार परिवर्तन गरी संक्रमण झनै भयावह रुपमा बिस्तार हुने तर्फ सचेत हुनु पर्ने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित समाचार