चीनको हुनान प्रान्तमा नक्कली धूलो दूध पिएपछि बालबालिकामा जटिल स्वास्थ्य समस्या देखिएपछि अधिकारीहरूले छानबीन शुरू गरेका छन् । साउथ चाइना मर्निङ पोस्टका अनुसार, योङसिङ काउन्टीमा बेइ आन मिन नामक प्रोटीन पेयपदार्थलाई दूध भनी लभ बेबीज वर्कशपले बेचेको थियो ।
पाँचजना बालबालिकाका मातापिताले काउन्टीको बजार अनुगमन अधिकारीलाई बच्चाहरूमा एक्जेमा नामक छालारोग लागेको बताए । त्यो रोग लागेपछि छाला रातो हुने र चिलाउने, तौल घट्ने र टाउको सुन्निने समस्या देखिन्छ । प्रोटीन ड्रिंक पिएपछि बच्चाहरूमा त्यो समस्या देखिएको हो ।
चीनमा नक्कली धूलो दूध बेचिने गरेकाले चिनियाँ मातापिता विदेशी ब्रान्डका दूध मात्र आफ्ना सन्तानलाई पिलाउँछन् । सन् २००८ मा प्लास्टिक बनाउन प्रयोग गरिने मेलामाइन धूलो दूधमा हालिएको र त्यो दूध पिएर ६ बालबालिकाको मृत्यु भएको घटना निकै विवादित बनेको थियो ।
सन् २००३ मा आन्हुई प्रान्तको फुयाङमा कमसल दूध पिउँदा १३ बालबालिकाको मृत्यु भएको थियो अनि १७१ लाई उपचार गराउनुपरेको थियो । अहिलेको घटनामा मातापिताहरू सामान्य दूधमा एलर्जी भएका बच्चाका लागि अमिनो एसिड राखिएको धूलो दूध किन्न गएका थिए ।
पसलका कर्मचारीले बेइ आन मिन सिफारिश गर्दै यो उत्कृष्ट भएको अनि एलर्जीले सताएका बालबालिकाका लागि उपयुक्त रहेको बताए ।
बट्टामा प्रोटीन लेखिएको भए पनि पसलेले बच्चाको दूधकै अर्को नाम भएको बताएको झु नामक एक अभिभावकले बताए ।