अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)सँगको सम्बन्ध पूर्ण रुपमा तोड्ने बताएका छन् । ट्रम्पले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कुनै प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना गर्दै आइरहेका थिए ।
संयुक्त राष्ट्र संघीय एजेन्सी डब्ल्युएचओलाई अमेरिकाले दिँदै आएको सहयोग रकम यसअघि नै बन्द गरिसकेको छ । ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई चीनको कठपुतली भएको आरोपसमेत लगाएका छन् ।
‘हामीले विश्व स्वास्थ्य संगठनलाई स्वतन्त्र भएर काम गर्न र व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर संगठन त्यसो गर्न असफल भयो ।’ ह्वाइट हाउसमा शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘आज हामी विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध तोड्दै छौं । अमेरिकाले डब्ल्युएचओलाई दिँदै आएको रकमहरू विश्वव्यापी सार्वजनिक स्वास्थ्यमा लगानी गर्ने छ। डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ, जसले अमेरिकाको तुलनामा एकदमै थोरै कोष रकम संगठनलाई दिन्छ।’