
बिहान १० बजे अरनिको राजमार्ग अन्तर्गत भक्तपुर सल्लाघारी – तीनकुने चोकमा बिस्तारै मानिसको जमघट हुन थाल्यो। एक, दुई गर्दै सयौँ अनि झण्डै हजार जना मानिसहरु जम्मा भए ।
कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारमा सरकारले गरेको लापरवाही र बेवास्ता गरेको भन्दै भक्तपुका युवाहरु सरकारको विरोधमा सडकमा उत्रिएका हुन् । सरकारले कोरोनाको नाममा भष्ट्राचार गरेको र नागरिकको उपचारको सट्टामा राष्ट्रपति कार्यालयमा कार्पेट राखेर नागरिकको स्वास्थ्यलाई वेवास्ता गरेको भन्दै विरोध गरिएको हो ।
यो जमातको एउटै स्वर थियो, ‘सरकार अब त अति भो !’ यो आन्दोलनमा कुनै राजनीतिक दलको ब्यानर थिएन, आन्दोलनमा सहभागीहरु सामाजिक सञ्जालमा प्राप्त जानकारीको आधारमा सडकमा आएका थिए। आन्दोलन गर्ने युवाहरुको हातमा ग्लब्स, मुखमा माक्स लगाएका थिए। आन्दोलन शान्तिपूर्ण थियो । उपस्थित युवाहरु शान्तिपूर्ण रुपमा प्लेकार्ड बोकेर सामाजिक दूरी कायम गर्दै राजमार्गको दुबै भागमा बसेका थिए ।

त्यही लाइनमा उभिएकी एक युवतीले आफू पेशाले नर्स रहेको बताइन्। उनले अस्पतालमा स्वास्थ्यकर्मी तथा बिरामीको स्वास्थ्य असुरक्षित भएको बताइन् । उनले आफू यो विरोध कार्यक्रममा उपस्थित हुनुको कारण खुलाउँदै भनिन्, ‘व्यवस्थित क्वारेन्टाइन बनाउनुपर्छ। कि त हाम्रो स्वास्थ्यको जिम्मेवारी पनि लिनुपर्यो ।’
युवाको हातमा ‘हेप्नी !, भष्ट्राचारी सरकारको पाराले, दुख पायो नेपाली साराले, करकरकर मेरो कमाइमा लाग्छ कर तर दश अर्ब खर्चको केही छैन भर !, के भन्लिन् हाम्री आमाले कुट्यो भन्दा मामाले, सरकारको भष्ट्रमति भो, उठौँ अब अति भो ।’ लेखिएका प्लेकार्ड थिए ।
