‘नयाँ नक्साका लागि सरकारलाई धन्यबाद !, तर १० अर्ब खोई ?’

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारी प्रयास अति कमजोर भएको भन्दै स्वतस्फूर्त रुपमा युवाहरुको प्रदर्शन शनिबार पनि जारी छ । काठमाडौँको माइतीघर मण्डलामा युवाहरु भेला भएर प्रदर्शन गरेका छन् । उनीहरुले आरडीटी परीक्षण बन्द गरिनु पर्ने, शतप्रतिशत पीसीआर विधिबाट परीक्षण गर्नु पर्ने मागसहितका नारा लेखिएका प्ले–कार्ड बोकेका छन् ।

यस्तै उनीहरुले भ्रष्टाचारको समेत विरोध गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि अर्बौँ रकम खर्च गरे पनि नागरिकले सेवा पाउन नसकेको भन्दै उनीहरुले हिसाब पनि मागेका छन् । गएको बिहीबारदेखि देशभर स्वतस्फूर्त रुपमा प्रदर्शन हुँदै आएको छ ।



क्वारेन्टिनहरुको व्यवस्थापन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार हुनुपर्ने माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनस्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो । प्रहरीले भद्रकाली, थापाथली र बबरमहल क्षेत्रबाट माइतीघर प्रवेश गर्न कडाई गरेको थियो ।

शनिबारको प्रदर्शन शान्तिपूर्ण थियो । बिहान १० बजेटबाट १२ बजेटसम्म प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि प्रहरीको आग्रहमा आधाघण्टा अगाडि नै प्रदर्शन सकिएको थियो ।

प्रदर्शनकारीहरुले प्रहरीलाई फूल समेत दिएका थिए । यसअघिका प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको भएपनि शनिबारको प्रदर्शन शान्तिपूर्ण रह्यो । प्रदर्शनकारीहरुले समेत प्रहरीको आग्रह अनुसार आधा घण्टा अगाडि नै प्रदर्शन सकेका हुन् ।

शनिबारको प्रदर्शनमा सहभागी भएकाहरुले नेपालको नयाँ नक्साको समर्थनमा नारा पनि लगाएका छन् । संसदले नयाँ नक्सासहितको निशान छापको व्यवस्था गर्नका लागि संविधान संशोधन गर्दै छ ।

सम्बन्धित समाचार