प्रहरी कार्यालयमा थुप्रियो तीन बोरा चाबी

बाँके प्रहरीले लकडाउन अवधिमा थुतेको मोटरसाइकल, स्कुटीको चाबी प्रहरी कार्यालयमा थुप्रिएको छ । चैत्र ११ गतेदेखि लकडाउन भएपछि त्यसलाई कडाई गर्ने क्रममा प्रहरीले अटेरीको मोटरसाइकल र स्कुटीको चाबी थुतेको थियो ।

अहिले वडा कार्यालय, नेपालगञ्जमा तीन बोरा चाबी थुप्रिएको छ । सवारी चालकहरु आफ्ना चाबी लिन आइरहेका छैनन् । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज हरि बस्नेतले चाबी लिन फाटफुट आइरहेको बताए । उनले लिन आएका व्यक्तिलाई चाबी दिएर पठाउने गरेको जानकारी दिए ।



प्रहरी कार्यालयमा चाबी थन्किएपनि सवारी साधन त चलेकै छ । किनभने, सबैले दोस्रो चाबी बनाएका छन् । नेपालगञ्जको सडकमा पछिल्लो पटक प्रहरीले सवारी साधन रोकेर चाबी लिएर हिडेपनि केहीबेरमा सडकमा मोटरसाइकल देखिदैनथे । सबैले दुई वटा चाबी लिएर हिँड्ने गरेका थिए । प्रहरीले चाबी थुतेर जान्छ, अर्को चाबीले मोटरसाइकल स्टार्ट गरेर सवारी चालक आफ्नो गन्तब्यतिर जाने गर्दथे ।

सबैले सबै चाबी एकैठाउँमा राखेको छ । मोटरसाइकलको चाबी लिन गएको मान्छेलाई आफ्नो चाबी भेटाउनै मुश्किल हुने गरेको छ । स्थानीय प्रशासनले लकडाउनलाई कडाई गर्दा शुरुमा सवारी साधनलाई रोकेको थियो । पछि पछि अत्यावश्यक बस्तु खरिदका लागि ११ देखि तीन बजेसम्म पसलहरु खोल्दा पनि सवारी साधन निषेध गरिएको थियो ।

पैदल गएर सामान किन्ने व्यवस्था मिलाइएको थियो । मन्त्रीपरिषद्को पछिल्लो बैठकको निर्णयपछि जिल्लामा चाबी थुत्न छोडिएको छ ।

सम्बन्धित समाचार