
यस वर्षको मनसुन नेपाल भित्रिएको छ । सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्ने गर्दछ । तर यस वर्ष २ दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । यससँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्व तयारीमा लाग्न विभागले सबैलाई अनुरोध गरेको छ ।
गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् असार ५ गते अर्थात् २० जुनमा मनसुन भित्रिएर असोज २५ गते बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो । १२ जुनमा पूर्वी नेपालबाट भित्रिएको मनसुन बिस्तारै देशभर फैलिँदै जानेछ । ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ,’ मौसमविद् समिर श्रेष्ठले भने ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिवार पनि पानी परेको थियो । त्यहाँ आईतवार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको मौसमविद श्रेष्ठले बताएका छन् ।
यस वर्षको मनसुनमा नेपालमा सरदर पानी पर्ने मौसमविद् श्रेष्ठले बताए । सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिने गरेको छ ।
