आजदेखि मोटरसाइकल र गाडी दुबैलाई जोर–बिजोर लागू

आजबाट चारपांग्रे निजी सवारी साधन र मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू भएको छ । यसअघि मोटरसाइकलमा जोरबिजोर लागू हुने कि नहुने भन्नेमा अन्योलता रहेपछि गृह मन्त्रालयले यसबारे स्पष्ट गर्दै जोर–बिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू हुने गरी निर्णय भएको जानकारी दिए । यसैगरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सोमबारदेखि मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू गर्न गृहमन्त्रालयबाट निर्देशन आएको बताए ।



यसअघि मन्त्रिपरिषद् बैठकले मोटरसाइकलमा एक जना मात्रै सवार हुनुपर्ने निर्णय गरेपनि जोरबिजोर लागू हुने या नहुने स्पष्ट गरेको थिएन । जसका कारण सर्वसाधारणमा अलमल रहेको थियो । यस्तै कार्यान्वयन गर्ने निकाय पनि अलमलमा रहेको थियो । गत बुधबारको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिवर्तन गर्दै निजी सवारीसाधनहरु जोर बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको थियो ।

सरकारको निर्णयअनुसार चारपांग्रे निजी सवारीसाधनको हकमा चालकसहित थप दुई जना र मोटरसाइकलमा एक जना चालकमात्रै यात्रा गर्न पाउनेछन् । जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर र विजोर गतेका दिन विजोर नम्बरका निजी सवारी साधन चलाउन पाइने छ ।

सम्बन्धित समाचार