के डेक्सामेथासोनले कोरोना भाइरसको संक्रमण ठीक पार्छ?

वैज्ञानिकहरूले कोरोना भाइरसको संक्रमणबाट ज्यान बचाउने पहिलो औषधि डेक्सामेथासोन भएको दाबी गरेका छन् । सस्तो तथा सबैतिर सहजै पाइने डेक्सामेथासोन कोरोना भाइरसका गम्भीर संक्रमितलाई बचाउन सहयोगी हुने उनीहरूको भनाइ छ । कम मात्रामा यस औषधिको उपयोग कोरोनाविरुद्धको लडाईंमा ठूलो सफलताको रूपमा देखिएको बेलायती विशेषज्ञहरूको भनाइ छ ।

बीबीसीका अनुसार भेन्टिलेटरमा राखेर उपचाररत बिरामीका लागि यस औषधिको प्रयोग गर्दा मृत्युको जोखिमबाट एक तिहाइ कम भएको उनीहरूले बताएका छन् । डेक्सामेथासोन सन् १९६० को दशकमा गठिया र दमको उपचारमा प्रयोगमा ल्याइएको हो । भेन्टिलेटरमा राखिएका करिब आधा बिरामीलाई बचाउन मुस्किल परिरहेको अवस्थामा यसबाट मृत्युको जोखिम घटाउन मद्दत पुगेको विशेषज्ञहरूले बताएका छन् ।



“बेलायतमा संक्रमण देखिएको शुरुको समयमै यस औषधिको प्रयोग गरिएको भए करिब पाँच हजार जनाको ज्यान जोगाउन सकिने थियो,” शोधकर्ताहरूले भनेका छन् । यो औषधि सस्तो भएकाले गरिब मुलुकका नागरिकलाई पनि सहजै उपलब्ध हुने उनीहरूको भनाइ छ ।

विशेषज्ञहरूका अनुसार कोरोनाका २० मध्ये १९ संक्रमित अस्पतालमा भर्ना नहुँदा पनि ठीक भइरहेका छन्। जो बिरामी अस्पताल भर्ना भएका छन्, तीमध्ये पनि अधिकांश तन्दुरुस्त भएर घर फर्किने गरेका छन्। र, जो बिरामीलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता देखिएको छ, उनीहरूको जीवन रक्षा गर्न डेक्सामेथासोन उपयोगी हुने देखिएको छ।

अक्सफोर्ड विश्वविद्यालयको अनुसन्धान टोलीले अस्पतालमा भर्ना भएका दुई हजार बिरामीमा यसको परीक्षण गरेको हो। तीमध्ये २८ देखि ४० प्रतिशतको जीवन रक्षा गर्न यो औषधिबाट सफलता मिल्यो। अनि, अक्सिजनको आवश्यकता भएका करिब २५ प्रतिशत बिरामीका लागि पनि यो औषधि प्रभावकारी देखियो।

‘यो एक मात्र औषधि हो, जसको प्रयोगबाट मृत्युदरमा कमी आएको छ,’ मुख्य अध्ययनकर्ता प्राध्यापक पिटर हार्बीले भने, ‘यो एक ठूलो उपलब्धी हो।’

सम्बन्धित समाचार