विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार आइतबार एकै दिन अहिलेसम्मकै धेरै व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । डब्लुएचओका अनुसार आइतबार विश्वभर एक लाख ८३ हजार भन्दा बढी संक्रमित थपिएका हुन् । यसमा ६० प्रतिशत भन्दा बढी संक्रमित उत्तर र दक्षिण अमेरिकाका छन् ।
अमेरिकासहित विश्वका धेरै देशमा लकडाउन खुकुलो पारिएका बेला एकै अहिलेसम्मकै धेरै संक्रमित पुष्टि भएका हुन् । महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अझै पनि संक्रमण तीव्र गतिमा बढिरहेको छ । अमेरिकामा संक्रमितको संख्या २२ लाख ७९ हजार भन्दा बढी पुगेको छ, त्यसमध्ये एक लाख १९ हजार ९ सय भन्दा बढीको ज्यान गएको छ ।
अमेरिकापछि बढी प्रभावित हुने देशको सूचिमा दक्षिण अमेरिकी देश ब्राजिल रहेको छ । हालको इपिसेन्टर ब्राजिलमा संक्रमितको संख्या १० लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यसमध्ये ५० हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ ।
विश्वभर संक्रमितको संख्या ८९ लाख ५२ हजार भन्दा धेरै पुगेको छ । यस्तै ज्यान गुमाउनेको संख्या चार लाख ६८ हजार भन्दा धेरै छ ।