चर्को घामले कोरोना भाइरस मार्न सक्छ: अध्ययन

अमेरिकी वैज्ञानिकहरूको एक समूहले गरेको पछिल्लो अध्ययनले कोरोना भाइरसको त्रासमुनि रहेका सम्पूर्ण मानव जातीमा आशाको संचार गराएको छ । चीनको वुहानमा पहिलो पटक संक्रमण पुष्टि भएपछि विश्वलाई नै आक्रान्त पारिसकेको यो भाइरसविरुद्धको लडाईंमा अहिले सम्पूर्ण मानवजाति एकजुट भएर लागेको छ ।

कोभिड-१९ विरुद्धको खोप वा औषधि विकास गर्ने अभियानमा विश्वभरका स्वास्थ्य वैज्ञानिकहरू एकोहोरिएका छन्। अर्बौ डलर खर्च भइसक्यो, तर अहिलेसम्म ठोष उपलब्धि हासिल भइसकेको छैन।



सन् २०१९ को अन्त्यमा देखिएको यो खतरनाक भाइरसलाई नियन्त्रण गर्न प्राकृतिक उपाय प्रभावकारी हुने तथ्य पछिल्लो अध्ययनले देखाएको छ ।

कसरी हुन्छ कोरोना नियन्त्रण ?

गर्मीयामको चर्को घामले ३४ मिनेटमै ९० प्रतिशतभन्दा बढी कोरोना भाइरसलाई मार्नसक्ने पछिल्लो अध्ययनमा पुष्टि भएको अमेरिकी वैज्ञानिकहरूले दाबी गरेका छन् । हालै प्रकाशित एक अध्ययन प्रतिवेदनमा वैज्ञानिकहरूले गर्मीयामको चर्को घाम कोरोना भाइरस मार्न निक्कै प्रभावकारी हुने बताएका हुन् ।

अमेरिकी सेनाका सेवा निवृत्त भएका जोसे लुइस साग्रिपान्टी र अमेरिकी ड्रग एण्ड फुड एडमिनिस्ट्रेसनबाट रिटायर्ड भएका डेविड लिट्लेले यस्तो नयाँ तथ्य सार्वजनिक गरेको न्युयोर्क पोष्टले छापेको छ।

घरमै बस्नु झन खतरनाक

वैज्ञानिकद्वय साग्रिपान्टी र लिट्लेले कोरोना भाइरसको संक्रमण रोक्न विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको घरमै थुनिने उपाय झन घातक हुनसक्ने चेतावनी दिएका छन्।

‘स्वस्थ मानिस बाहिर निस्कँदा घामको सम्पर्क हुन्छ। जसले प्रतिरोध क्षमता बढाउन योगदान गर्छ। तर, संक्रमण फैलिन नदिने बहानामा मानिसलाई घरमै बस भन्दा झन उल्टो प्रभाव पर्न सक्छ,’ दुई वैज्ञानिकले अध्ययन प्रतिवेदनमा उल्लेख गरेका छन्।

स्पेनिस फ्लुको अनुभवसँग मिल्दो

१९१८-१९ मा विश्वव्यापी महामारीको रूप लिएको स्पेनिस फ्लुमा पनि घरभित्र थुनिएका बिरामीको दाँजोमा घाम र बाहिरको ताजा हावाको सम्पर्कमा पुगेकाहरू बढी निको भएको पुरानो अध्ययन प्रतिवेदनले देखाएको छ।

त्यतिबेलाको अध्ययनअनुसार खुला हावा र घाममा निस्कनेहरूमा संक्रमण पनि घरभित्रै बस्‍नेको दाँजोमा अत्यन्तै कम भएको थियो । जाडो याममा कोरोना भाइरसको महामारी शुरू हुँदा स्वास्थ्य विज्ञहरूले गर्मी लागेसँगै भाइरस निश्प्रभावी हुने आशा गरेका थिए ।

तर, केही समयपछि त्यस्तो सम्भावनामा आशावादी भएर सोच्ने क्रमलाई नै वैज्ञानिकहरूले बन्द गरिसकेको बेला घामले भाइरस मार्ने नयाँ तथ्य सार्वजनिक भएको छ ।

सम्बन्धित समाचार