बन्धुकधारीद्वारा २४ जनाको हत्या

मध्य मेक्सिकोको एउटा लागूऔषध पीडितको पुनर्स्थापना केन्द्रमा बुधवार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय सुरक्षास्रोतका अनुसार उक्त आक्रमणमा अरु सात जना घाइते भएका छन् ।

प्रहरीका अनुसार प्रारम्भिक विवरणमा ती आक्रमणकारीहरु पुनर्स्थापना केन्द्रमा जबर्जस्ती प्रवेश गरेर त्यहाँ रहेका व्यक्तिलाई अन्धाधुन्ध गोली प्रहार गरेका थिए । उनीहरुले केन्द्रमा रहेका व्यक्तिहरुलाई भुइँमा सुत्न लगाएर लहरै गोली चलाएको प्रत्यक्षदर्शीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।



रातो सवारी साधनमा आएका आक्रमणकारीको खोजी कार्य तीब्र बनाइएको प्रहरी अधिकारीहरुले जनाएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था निकै जटिल रहेको छ । आक्रमणकारीले कसैलाई पनि अपहरण नगरेको प्रहरीको भनाई छ । गुआनाजुतो राज्यमा मेक्सिकोका ठूला उद्योगहरु तथा कार निर्माणका ठूला कारखाना रहेका छन् । यहाँ केही वर्षदेखि संगठित अपराधका घटना तीव्र रुपमा बढेका छन् ।

मेक्सिकोकै धनी राज्यमा परिणत भइरहेको गुआनाजुतोमा शक्तिशाली आपराधिक समूहहरु जस्तै न्यू जेनेरेसन र सान्ता रोजा डी लिमा सक्रिय भएका छन् । यी समूहहरु घम्की, अपहरण र इन्धन चोरीजस्ता अपराधमा सक्रिय छन् ।

पछिल्लो समयमा आपराधिक घटना बढेको भन्दै राष्ट्रपति आन्द्रेजले मुलुकको कानून व्यवस्था सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए । रासस

सम्बन्धित समाचार