भारतमा कोरोना भाइरसको संक्रमणबाट २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् । त्यहाँ पछिल्लो २४ घण्टामा हालसम्मकै बढी २१ हजार ९ सय ४८ संक्रमित थपिएका हुन् । योसँगै भारतमा संक्रमितको कुल संख्या ६ लाख २७ हजार नाघेको छ ।
वल्डोमिटरका अनुसार गएको २४ घण्टामा त्यहाँ कोरोनाबाट ३ सय ७७ संक्रमितले ज्यान गुमाएका छन् । योसहित भारतमा यो भाइरसका कारण मृत्यु हुनेको संख्या १८ हजार २ सय २५ पुगेको छ । भारतमा हालसम्म झण्डै ३ लाख ८० हजार संक्रमित उपचारपछि घर फर्किएका छन् । त्यहाँ अहिले २ लाख २९ हजार संक्रमितको उपचार जारी छ । जसमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, दक्षिण एसियामा भारतपछि कोरोनाबाट बढी प्रभावित पाकिस्तानमा संक्रमितको संख्या २ लाख १७ हजार नाघेको छ । गत २४ घण्टामा त्यहाँ ४ हजार ३३९ नयाँ संक्रमित थपिँदा ७८ जनाले ज्यान गुमाएका छन् । योसँगै पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ४ सय ७३ पुगेको छ । पाकिस्तानमा अहिलेसम्म १ लाख ४ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् ।