नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
गलवान क्षेत्रमा चीन र भारतका सेनाबीच रस्साकस्सी चलेको छ । गत जुन १५ मा त्यहाँ दोहोरो भिडन्त हुँदा २० जना भारतीय सैनिक मारिएका थिए भने चीनको तर्फपनि हताहत भएको थियो । यो विवाद मिलाउन दुवै देशका बीच पटक पटक वार्ताहरु हुँदै आएका छन् । भारतले गलवान क्षेत्रबाट चिनियाँ सैनिकलाई पछि हट्न दबाब दिंदै आइरहेको छ ।
सीमा क्षेत्रबाट भारत र चीनका सेना पछि हटेको खबर आएका बेला चीनको विदेश मन्त्रालयले सो विषयमा वक्तव्य जारी गरेको छ । चीनको विदेश मन्त्रालयले सीमा क्षेत्रमा देखिएको तनाव कम गर्ने पक्षमा दुवै देश अघि बढेको बताएका छन् । तर चीनले आफ्नो बयानमा स्पष्ट रुपमा यो भनेको छैन कि उसका सेना पछ हटेका हुन् या होइनन् ।
समाचार संस्था रोयटर्सले चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजिआनसँग सोधेको छ, ‘भारतीय सञ्चारमाध्यमका अनुसार दुई देशका सेनाबिच झडप भएको गलवान उपत्यकाबाट टेन्ट र उपकरणसहित चिनियाँ सेना पछि हटेको छ । के तपाईँ यो कुरा पुष्टि गर्नुहुन्छ ?’ त्यसको जवाफमा लिजिआनले भनेका छन्, ‘चीन र भारतका सैनिकले जुन ३० मा कमाण्डर स्तरमा तेस्रो चरणको वार्ता गरेका छन् । दुई पक्षबिच बनेको सहमति अनुसार तनाव कम गर्ने पक्षमा काम भइरहेको छ । हामीलाई आशा छ कि भारतले पनि आफ्नो तर्फबाट सकारात्मक काम हुनेछ, सहमतिको पालना गर्ने छ ।’
सैन्य तथा राजनीतिक स्तरमा सम्पर्कमा रहेर तनाव कम गर्नका लागि थप प्रयास हुनेमा आश रहेको उनले बताए । सोमबार वास्तविक नियन्त्रण रेखा (एलएसी) बाट भारत र चीनका सेना पछि हटेको खबर आएको थियो । रोयटर्सका अनुसार सोमबारको कदम तनाव कम गर्ने पक्षमा महत्वपूर्ण थियो ।
पूर्वी लद्दाखको एलएसी क्षेत्रमा गएको जुन १५ राति भारत र चीनका सेनाबिच भिडन्त हुँदा भारतीय सेनाका एक उच्च अधिकारीसहित २० जनाको ज्यान गएको थियो ।