प्रहरी महानिरीक्षक ज्ञवालीको बिदाइ

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षक तारिणी प्रसाद लम्साल र प्रहरी नायव महानिरीक्षक सूर्य प्रसाद उपाध्यायलाई बिदाइ गरिएको छ । ३० वर्ष सेवा अवधि पूरा गरी सेवानिवृत्त हुन लागेका उनीहरुलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले फूलमाला लगाई उनीहरुलाई बिदाइ गरे । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरेको प्रसन्नता प्रकट गरे ।



उनले आफूलाई हार्दिकतापूर्वक सम्मान दिएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीप्रति हार्दिक आभार प्रकट गरे ।

प्रहरी महानिरीक्षक ज्ञवालीले आफ्नो कार्यकालमा संगठनमा सामूहिक निर्णय प्रक्रियालाई संस्थागत गर्ने, कर्मचारीहरुको कार्यक्षमता तथा कार्यकौशल अनुरुपको मूल्याङकन पद्धति संस्थागत गर्ने, सेवा प्रवाहमा गुणस्तरीयता ल्याउने र संगठनका हरेक सदस्यहरुको संगठनप्रतिको अपनत्व र भातृत्वभाव बढाउन जोड दिएको बताए ।

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सेवानिवृत्त हुन लागेका वरिष्ठ प्रहरी अधिकृतलाई दीर्घ सेवा सम्मान प्रदान गरे ।

सम्बन्धित समाचार