ओली-प्रचण्डबीच थप छलफल अनिश्चित

पार्टीभित्र बढेको विवाद अन्त्यका लागि सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ । आज आपफूनिकट नेताहरूको परामर्शपछि थप छलफल गर्ने भनिएपनि वार्ता अनिश्चित बनेको नेकपा स्रोतले जनाएको छ।

जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने आवाज चर्को रुपमा उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। विवादले पार्टी फुटको जोखिम बढेपछि स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्ष एक्लाएक्लै छलफलमा बसेका हुन्। पटक पटक स्थगीत हुँदै आएको स्थायी कमिटी बैठक असार २६ गते बस्ने बताइएको छ।



स्थायी कमिटी बैठक रोकेर भएका छलफलमा दुबै पक्ष आफ्नो अडानबाट पछि नहटेपछि सहमती जुट्न सकेको थिएन । तर हिजाेकाे छलफलमा एक पदबाट राजीनामा दिनेबारे ओली सकारात्मक देखिएकाे बताइएपनि आज वार्ताकाे लागि तयार नदेखिएकाेले ओली फेरि पछाडि हटेकाे प्रचण्डकाे अनुमान छ ।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले पनि आज अध्यक्षद्वयबीच छलफलको लागि समय तय नभएको जानकारी दिए। उनले अध्यक्ष प्रचण्डसँग अन्य नेताहरुको छलफलको लागि पनि समय निर्धारण नभएको बताए।

सम्बन्धित समाचार