राजु लामिछाने
काठमाडौं, २५ असार ।
सत्तारूढ दल नेकपाभित्रको विवाद मिलाउन अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच तीन दिन लगातार भएको वार्तामार्फत पनि सहमति नजुटेपछि चौथो दिन विहीबार उनीहरूबीच वार्ता नै भएन । दुबै नेता आ–आफ्नो अडानबाट पछि नहटेपछि नेकपा फुटनिकट पुगेको जानकारहरू बताउछन् । यता प्रधानमन्त्री ओली भने प्रचण्डलाई फकाउने र गलाउने रणनीतिको साथ अगाडि बढेका छन् ।
प्रचण्डसँगको वार्तामा आफ्नो अडान नछोड्ने र बिच्किएमा आफूनिकट नेताहरूमार्फत प्रचण्डलाई फकाउने काम ओलीले पछिल्ला दिनहरूमा गरिरहेका छन् । हिजोमात्र वार्तामा प्रचण्डलाई अध्यक्ष बन्ने भए महाधिवेशनसम्म र प्रधानमन्त्री बन्नेभए आगामी निर्वाचनसम्म कुर्न आग्रह गरेका ओलीले आज आफूनिकट नेतामार्फन प्रचण्डलाई नयाँ प्रस्ताव गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विहीबार दिउँसो ओलीको सन्देश बोकेर खुमलटार पुगेका थिए । ओली प्रचण्डबीच आज हुने भनिएको वार्ता टरेपछि उनीहरू अध्यक्षद्वयलाई सहमतिबाट भाग्न नदिने भन्दै प्रचण्डलाई सहमति गरेर जान विभिन्न प्रस्तावसहित आग्रह गरेका थिए । आफूहरूले गरेको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको ब्रिफिङ नेता नेम्वाङले ओलीसमक्ष गरेको बालुवाटार स्रोतको दाबी छ ।
उनीहरूले प्रचण्डलाई महाधिवेशनमा एकल अध्यक्ष बन्न सघाउने र निर्वाचनपछि संसदीय दलको नेता बनाएर प्रधानमन्त्री बन्ने बाटो खुलाउन ओली लिखित सम्झौता गर्न तयार रहेको भन्दै तत्काल सहमतिमा अगाडि बढ्न आग्रह गरेका थिए । जवाफमा प्रचण्डले ओलीले तत्कालको लागि कुनै एक पदबाट राजीनामा दिँदा पार्टीभित्रका सबै नेताहरूलाई सहमतिमा ल्याउन सकिने बताएका थिए । वार्तामा सहभागी तीन नेताहरूले त्यसको वातावरण बनाउन पहल गर्ने बताएका थिए ।
आज खुमलटारमा भएको वार्तामा अन्य गोप्य प्रस्ताव पनि प्रचण्डलाई गरिएको आशंका गरिएको छ । ओलीले पार्टी फुटाउने धम्की दिई प्रचण्डलाई हात लिएर आफ्नो प्रधानमन्त्रीको कार्यकाल ५ वर्ष नै लम्ब्याउन निरन्तर प्रयास गरिरहेका छन् । यसका लागि उनले राष्ट्रपतिदेखि चीनलाईसम्म प्रयोग गरेको देखिन्छ ।
ओलीलाई चीनको साथ
पछिल्लो समय भारतविरूद्ध आक्रमक देखिएका ओलीलाई चीनले भने पूर्ण रूपमा साथ दिएको छ । नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरूसँगको भेटमा सरकार परिवर्तनतिर नलाग्न दवाव दिंदै आएकी छिन् । आजमात्र उनले प्रचण्डलाई भेटेरै सरकार परिवर्तनतिर नलाग्न दवाव दिएको स्रोतको दाबी छ ।
‘हामी नेपालमा स्थायी सरकार र विकास भएको हेर्न चाहन्छौं’ आजको भेटमा राजदूतको भनाइ उध्रित गर्दै दूतावास स्रोतले सरकार परिवर्तन गर्नपट्टि लाग्दा पार्टी फुट्न खतरा बढेको भन्दै राजदूत यान्छीले सहमतिका साथ अगाडि बढ्न दवाव दिएकी थिइन् ।
यान्छीले पछिल्लो समय नेकपाका वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाललाई भेटेर यस्तै दवाव दिएकी थिइन् । यान्छीको सक्रियतालाई पनि ओलीकै योजनाअनुसार चीनको सहयोगको रूपमा हेरिएको छ । यद्दपि चिनियाँ राजदूतको सक्रियता अस्वाभाविक भएको भन्दै नेकपाभित्र पनि दोस्रो तहका नेताहरूले आपत्ति जनाउँदै आएका छन् ।