नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ । बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’
यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो । नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो ।