नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ असार ।
कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले वार्ता गर्ने वेलामा गाली–गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाएका छन् । पौडेलले ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको पनि बताए।
गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्ताहरूसँगको अर्चुअल बैठकमा पौडेलले ओलीले राष्ट्रियतालाई कागजीबाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने बताए । पौडेलले कम्युनिस्टहरूको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजीबाघ भएको बताए ।
उनले कम्युनिस्टहरूले भन्ने समाजवाद, समानता, तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए । पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिस्ट सरकार असफल भएको बताए । कम्युनिस्टहरूले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेलभन्दा अरू कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो ।
पौडेलले कांग्रेसको १४औं महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आमनेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले फागुनमा महाधिवेशन गर्न पर्याप्त समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरू सक्रिय हुन्छन् कि भन्नेमा खबरदारी गर्न आग्रह गरे ।