स्वीस बैंकमा प्रधानमन्त्री ओलीको पैसा छैनः सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकको खातामा ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको कुरा शतप्रतिशत गलत रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तथाकथित यो रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्टिकरण दिएका छन् ।

‘ग्लोबल वाच एनालाइसीसलाई उद्धृत गरी केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनीयतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति गम्भीर ध्यानाकर्षण’ भएको पनि प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।



उनले उल्लेख गरेका छन्, ‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रबैया खेदजनक छ ।’

‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको प्रष्ट रहेको छ’ प्रेस सल्लाहकार थापाले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

‘आम नेपालीहरूलाई म यस्ता कुनै पनि दुष्प्रचारको भ्रममा नपर्न हार्दिक आह्वान गर्न चाहन्छु । र, सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग समेत गर्दछु’, उनले भनेका छन् ।

ग्लोबल वाच एनालाइसीसमा लेखेको एक लेखमा पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अकूत सम्पत्ति आर्जन गरेको र त्यो स्वीस बैँकमा थुपारिएको दाबी गरिएको छ।

सम्बन्धित समाचार