ओली–प्रचण्ड बीच वान टु वान वार्ता जारी

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता जारी छ । बैठक केही बेरअघि बालुवाटारमा सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बैठकमा दुईजना अध्यक्षबीच सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ । हिजो (मंगलबार) प्रधानमन्त्री ओली थकित र गलित देखिएकाले छलफलमा विषय प्रवेश हुन सकेको थिएन ।

स्थायी कमिटीको बैठक असार १६ गते यता अवरूद्ध रहँदै आएको छ । पछिल्लोपटक असार २६ गतेलाई तय गरिएको थियो । तर, मुलुक बाढी, पहिरो आदि प्रकोपले आक्रान्त बनेपछि एक साता धकेलिएको थियो । यसबीचमा दुई अध्यक्षबीच पटकपटक वार्ता भए पनि पार्टीको आन्तरिक संकट व्यवस्थापनमा सहमति जुट्न सकेका छैन । स्थायी कमिटीको पाँचौं बैठक सुरु भएपछि दुई अध्यक्ष आजसम्म गरी छैटौंपटक एक्लाएक्लै (वान अन वान) वार्ता भएको छ ।



कैयौं चरणको वार्तापछि पनि खासै कुनै ठोस निष्कर्ष निस्कन सकेको छैन । दुवै नेताहरु आ आफ्ना अडानबाट टसको मस भएका छैनन् । दुवै नेताहरुले आफ्नो गोरुको बाह्रै टक्का नभनि एउटा सम्झौताको बिन्दुमा पुग्नु आजको टड्कारो आवश्यकता हो ।

तर, उनीहरूबीच पुरानै रटान कायमै छ । पार्टी अध्यक्ष प्रचण्डले सुरुमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने अडानमा थिए । सहमतिका लागि एक पद छाड्न गरेको आग्रह पनि ओलीले अटेर गर्दै कुनै पनि पद त्याग्न नसक्ने अडानमा दृढतापूर्वक उभिँदै आएका छन् ।

सम्बन्धित समाचार