ओली प्रचण्ड सहमति नजिक, माधव नेपाल बाधक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक विवाद समाधानका लागि सहमति जुटाउन आज पनि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल भोलि पुनः बस्नेगरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई अध्यक्ष आ आफ्नो जिम्मेवारीको विषयमा सहमति नजिक पुगेका छन् । तर सहमतिलाई अन्तिम रूप दिने क्रममा भने पार्टीका वरिष्ठ नेता माधव नेपाल बाधक देखिएका छन् ।

यसअघि पार्टीभित्रको विवादमा नेपालले प्रचण्डलाई साथ दिंदै आएका थिए । ओलीसँग सहमति गर्दैगर्दा माधव नेपालका मागहरूको सम्बोधन गर्नुपर्ने बाध्यता प्रचण्डमा छ । नेपालले यसअघि नै दुई अध्यक्षबीचको चोचोमोचो आफूलाई स्वीकार्य नहँुने भन्दै पार्टीका सम्पूर्ण नेताहरूको माग अध्यक्षद्वयले सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।



के हो ओली प्रचण्डबीच हुन लागेको सहमति ?
नेकपाको स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैलिप्रति असन्तुष्टि जनाउँदै सरकार र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा मागेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको थियो । आफूइत्तरका नेताहरूले लगातार राजीनामाको दवाव दिन थालेपछि ओलीले बजेट अधिवेशन अन्त्य गरेर पार्टी फुटाउने दिशामा अगाडि बढेर राजीनामा दिनुभन्दा पार्टी फुटाउने धम्की दिएपछि उनीइत्तरका नेताहरू ओलीसँग एकाएक नरम हुन पुगेका थिए ।

त्यसयता पार्टीलाई फुटबाट जोगाउने र सहमतिको विन्दु पहिल्याउने भन्दै ओली प्रचण्डबीच ८ पटक भेटवार्ता भैसकेको छ । पछिल्लो दिनसम्म आउँदा ओली र प्रचण्ड पार्टीभित्र आ–आफ्नो भूमिकादेखि आगामी महाधिवेशन र निर्वाचनसम्मको लागि रोडम्याप तयार गरेर लिखित सहमति गर्न तयार भएका छन् । सम्भवत साउन २ गतेका लागि बोलाइएको स्थायी कमिटी बैठकअगाडि उनीहरू लिखित सहमति गरिसक्नेछन् ।

ओली र प्रचण्डबीच गत मंसिर ४ गते भएको सहमतिलाई थप मजबुत गरेर अगाडि बढ्न सहमत भएका छन् । यसमा प्रचण्डको कार्यकारी अध्यक्षको पदलाई थप सशक्त बनाउने भनिएको छ । ओलीले ५ वर्ष नै सरकार चलाउने र पार्टीसम्बन्धी सम्पूर्ण निर्णय प्रचण्डमा निहित रहनेगरी ओली प्रचण्डबीच सहमति हुने भएको छ । साथै ओलीले प्रचण्डलाई आगामी महाधिवेशनमा आफू अध्यक्ष पदमा नउठ्ने र निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने विषयमा लिखित सहमति गर्न तयार रहेको बताएका छन् । यद्दपि यो विषयलाई नेपाल समूहले साथ दिन्छ या दिंदैन भन्ने कुराले विशेष अर्थ राख्ने भएको छ ।

पार्टीभित्रको विवाद समाधानको नाममा प्रचण्डले आफूमामात्र शक्ति केन्द्रित गरेमा आफूहरूलाई स्वीकार्य नहुने चेतावनी यसअघि नै नेपाल पक्षले प्रचण्डलाई दिइसकेको छ । त्यसैले पनि आजको भेटमा ओली र प्रचण्डबीच माधव नेपालको भूमिकाका बारेमा लामो छलफल भएको थियो । भोलि हुने बैठकमा नेपाललाई पनि सहभागी गरेर तीनै नेताले सहमति गरी पार्टी एकताको सन्देश दिने तयारी भैरहेको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार