नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको आन्तरिक विवाद मिलाउन जुटेका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेपाल माधव नेपालबीचको आजको छलफल सकारात्मक हुन सकेन । प्रचण्ड र नेपाल दुबैले राजीनामा दिन दबाव दिएपछि ओलीले थप रणनीति तय गर्न बालुवाटारमा निकटस्थसँग छलफल थालेका छन् ।
आजको वार्तामा पावर शेयरिङको विवाद नमिलेपछि ओली पक्षधर बेग्लै रणनीतिमा जुटेको हो । प्रचण्ड र नेपालले ओलीलाई दुवै पदबाट राजीनामा दिन यसअघि राख्दै आएको अडान नछाडेपछि तीन नेताबीचको विवाद मिल्न सकेन । भोलिका लागि तय भएको स्थायी कमिटी बैठक भने चलाउने सहमति गरेर उठेलगत्तै ओली आफ्ना पक्षका नेतासँगको परामर्शमा जुटेका हुन् ।
बालुवाटार निकटस्थ स्रोतका अनुसार ओली आफूनिकटका सचिवालय र स्थायी कमिटी सदस्यसँग भोलिको बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गरिरहेका छन् । उता प्रचण्ड र नेपाल पक्षधर नेता पनि अनौपचारिक छलफलमा जुटेका छन् ।
प्रचण्ड नेपाल पक्षधर नेताहरु स्थायी समिति बैठकबाट ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारीमा छन् । स्थायी कमिटीका बहुमत सदस्यहरुको साथ भएकोले पेलेरै भएपनि ओलीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गर्नुपर्ने विषयमा ओलीइत्तरका नेताहरु एक छन् । भोलिका दिनमा ओली पार्टी फुटाउन उद्दत भएपनि पार्टी निर्णय नमानेर पार्टी फुटाएको आरोप ओलीलाई नै लाग्ने भएकोले ओलीसँग रक्षात्मक भएर प्रस्तुत भैरहनु आवश्यक नरहेको बुझाई नेपाल र प्रचण्डको रहेको छ ।