नवकान्तिपुर संवाददाता
वाशिङ्टन, ३ साउन ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकनहरुलाई मास्क प्रयोगका लागि अपिल गर्न अस्वीकार गरेका छन् । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग ‘बाध्यकारी’ बनाउन सुझाव दिएपछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो ।
डा. फाउचीले मास्क वा रुमालले मुख छोप्नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नुपर्ने सुझाएका थिए । तर, अमेरिकामा मास्कको प्रयोगको विषयलाई राजनीतिकरण गरिएको छ । यसअघि मास्क प्रयोग गर्न अस्वीकार गर्दै आएका राष्ट्रपति ट्रम्पले गत शनिबार भने मास्कको प्रयोग गरेका थिए । उनले मास्क प्रयोगको विषयमा बोल्दै मास्क प्रयोग गर्ने विशेष स्थान र समय हुने बताएका थिए ।
तर, राष्ट्रपति ट्रम्पले नागरिकलाई मास्क प्रयोगका लागि अपिल गर्न भने अस्वीकार गरेका हुन् । विश्व स्वास्थ्य संगठनले मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट जोगाउन सकिने भएकोले कोरोना महामारी नियन्त्रणका उपायहरुमा मास्कको प्रयोग उत्तम रहेको जनाउँदै आएको छ ।
शुक्रबार फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा आफू सहमत हुन नसक्ने बताएका हुन् । उनले भने, ‘मानिसहरुका निश्चित स्वतन्बताहरु हुन्छन् ।’ उनले आफू व्यक्तिको स्वतन्त्रता हनन् गर्ने पक्षमा नरहेको बताएका छन् ।
तर, दक्षिणी राज्य जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पले आउँदो एक महिनाका लागि मास्क प्रयोग अनिवार्य गरेका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ लाख ४१ हजारभन्दा बढी पुगेको छ भने एक लाख ३९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । (बीबीसी)