नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।
लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली बिस्फोट परी नेपाली नागरिक हताहत भएको वा घाइते भएको जानकारी अहिलेसम्म नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको मध्य तथा पश्चिम एसिया र अफ्रिका शाखाका प्रमुख सहसचिव हरिषचन्द्र घिमिरेका अनुसार ठूलो बिस्फोट भएकाले नेपालीहरुको अवस्थाबारे जानकारी लिन निरन्तर प्रयास भइरहेको छ र अहिलेसम्म नेपाली हताहत भएको वा घाइते भएको जानकारी छैन ।
सहसचिव घिमिरेले भने, ‘लेबनान समेत हेर्ने कायरमा रहनु भएका इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालसँग हामी निरन्तर सम्पर्कमा छौँ । यस्तै बेरुत स्थित अवैतनिक महावाणिज्यदूतसँग पनि सम्पर्कमा छौँ । अहिलेसम्म नेपाली हताहत भएको वा घाइते भएको जानकारी छैन ।’
घाइते धेरै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने भएको र विस्तृत विवरण आइनसकेकाले नेपालीको अवस्थाबारे अहिले नै यकिन रुपमा भन्न नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।