नेपाली राजनीतिमा ‘रअ’को चलखेल, नेकपालाई तीन टुक्रा पार्ने र बाबुरामलाई सत्ता सुम्पने तयारी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी विवादमा वैदेशिक हस्तक्षेपले पनि काम गरेको पाइएको छ । चिनियाँ राजदूत होउ यान्छीले नेकपाका शीर्ष नेताहरूलाई भेटेर विभिन्न प्रकारका दवाव दिइरहेको खबर त यस अघि नै सार्वजनिक भैसकेकै छन् । तर पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले भन्ने गरेको एक आरोपलाई पुष्टि हुनेगरी नेपालको राजनीतिमा भारतको चलखेल भैरहेको तथ्य सार्वजनिक भएको छ ।

प्रधानमन्त्री ओलीले भारतले सरकार परिवर्तन गर्न चाहेको आरोप लगाउँदा कतिपयले ओलीकै चर्को आलोचना गरे । भारतलाई दोषी देखाउँदै आफू राष्ट्रवादी बनेर सत्तामा टिकिरहन चाहेको आरोप पनि ओलीलाई लगाइयो । नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नभई आफूले ओलीको राजीनामा मागेको प्रतिक्रिया दिए । राजीनामा प्रकरणबाट चर्किएको नेकपाको विवाद फुटको तहसम्म पुगेको छ । नेकपा जुटाउन मात्र होइन फुटाउन पनि वैदेशिक दवाव परिरहेको स्रोतको दाबी छ ।



ओलीको नेतृत्वमा रहेको सरकार गिराउन मात्र होइन, नेकपालाई ३ टुक्रामा विभाजन गर्ने योजनाको साथ भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ्स (रअ) का अधिकारी काठमाडौंमै बसेर चलखेल गरिरहेको स्रोतको दाबी छ । नेपालले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि ओली सरकारसँग रुष्ट बनेको भारत ओलीले राम नेपालमै जन्मिएको प्रतिक्रिया दिएपछि झनै रिसाएको छ । चीनको सहयोगमा ओलीले भारतलाई जिस्क्याउने काम गरेको भन्दै भारतले रअमार्फत ओलीलाई सरकारबाट हटाउने र नेकपालाई पनि फुटाउने रणनीतिको साथ प्रतिनिधिहरूलाई काठमाडौंका विभिन्न होटलहरूमा राखेर नेकपाका दोस्रो तहका नेतामार्फत चलखेल गरिरहेको बताइन्छ ।

नेपालकै गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले सरकार गिराउने सन्दर्भमा नेकपाकै कतिपय नेता र प्रतिपक्षी दललगायतसँग रअका अधिकारीको रातभरि संवाद र चलखेल हुने गरेको सूचना तयार पारेको बताइन्छ । प्रधानमन्त्री ओलीसम्म नै आधिकारीक रूपमा सरकार गिराउन, नेकपा फुटाउन र नेपालको राजनीतिलाई धमिलो बनाउन भारतीय रअका अधिकारी कसरी लागेका छन् भन्ने सूचना पुगिसकेको स्रोतको दाबी छ ।

नेकपालाई ३ टुक्रा पार्ने योजना
भारतको चाहनाविपरीत पूर्व एमाले र माओवादीबीच एकताको प्रयास हुँदादेखि नै रअले एकता भाँड्ने प्रयास गरेको थियो । चीनको जोडबल र तत्कालीन एमाले र माओवादी दुबैलाई निर्वाचनमा हारिने भयको कारण दुई पार्टी एक ठाँउमा आएका थिए । दुबै पार्टी मिलेर निर्वाचनमा जाँदा स्पष्ट बहुमत पनि हासिल गरे ।
कालन्तरमा भारतको चाहना नहुँदा नहुँदै नेकपा गठन हुन पुग्यो । प्रधानमन्त्रीको रूपमा केपी ओली अगाडि आए । भारतले ओली शक्तिशाली प्रधानमन्त्री बनेपछि ओलीलाई हात लिने प्रयास गर्यो । ओलीसँगको भारतको सम्बन्ध सुधारिन थालेपछि भारतले नेकपा फुटाउने रणनीतिलाई स्थगित गरेको थियो । तर पछिल्लो समय भारतसँग बिग्रँदो सम्बन्ध र नेकपाकै नेताहरूबीच आन्तरिक कलहको कारण यही बेला नेकपालाई ३ टुक्रा पार्न सकिने भन्दै रअ काठमाडौंमा सक्रिय छ ।

सुरुमा प्रचण्डलाई सत्ताको प्रलोभनमा पारेर नेकपालाई २ टुक्रा पर्ने र पछि प्रचण्ड माधव नेपाल समूहलाई पनि फुटाएर ३ टुक्रा पर्ने रणनीति रअको भएको स्रोतको दाबी छ । रअले प्रचण्डलाई पनि प्रधानमन्त्री बनाउन चाहेको छैन । वर्तमान् राजनीतिक शक्ति सन्तुलनअनुसार नेकपा फुटेपछि प्रचण्ड, नेपाल या कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहज हुने भएपनि भारत भने यी तिनैजनाभन्दा बाहिरको मान्छेलाई प्रधानमन्त्री बनाउने योजनामा रहेको बताइन्छ ।

बाबुरामलाई सत्तामा पुर्याउने योजना
भारतले मधेशबादी दललाई सत्ताको नेतृत्व सुम्पने योजना अनुसार समाजवादी र राजपाबीच एकीकरण गराएको बताइन्छ । लामो समयदेखि एकीकरणका कुरा चले पनि प्रधानमन्त्री केपी ओलीले २ तिहाई समर्थन जुटाउन राजपा र समाजवादीभित्र खेलेपछि मात्र उनीहरूबीच एकीकरण भएको थियो । ओलीको विवादास्पद अध्यादेशपछि नेकपामा पनि विवाद सिर्जना भएको र राजपा र समाजवादी पनि मिल्न चाहेपछि भारतकै योजनाअनसार ओलीको विकल्पको रूपमा डा बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने योजना बुनिएको स्रोतको दाबी छ ।

जसपामा राष्ट्रिय प्रभाव भएका व्याक्ति भट्टराई नै भएकोले उनीलाई प्रधानमन्त्री बनाउँदा अन्य दलको सार्थन जुटाउन सजिलो हुने रअको बुझाई छ । कांग्रेस, जसपा र नेकपा फुटपछिको कुनै एउटा समूहलाई समेटेर नयाँ सरकार गठन गर्ने योजनाअनुरूप रअका अधिकारीहरु काठमाडौंका विभिन्न होटलमा बसेर योजना बुनिरहेको स्रोतले दाबी गरेको छ ।

सम्बन्धित समाचार