म आशिष दिन चाहन्छु, दर्शक सराप नै रुचाउँछन् : यादव देवकोटा ‘सरापे’, हास्य कलाकार

आजको दिनमा निकै व्यस्त हास्य कलाकार यादव देवकोटालाई नामले कमैले चिन्छन् । हास्य टेलिचलचित्रहरुमा सरापेको भूमिकामा देखिने उनी सरापेकै नामबाट चर्चित छन् । उनलाई लाग्दैन होला, यादवलाई नै सरापेझै चर्चित बनाऊँ । हाम्रो जिज्ञासामा उनले भने ‘सरापेको सफलता नै मेरो सफलता हो । आज भोलि त मेरो नाम सोध्नेहरूलाई पनि नामै सरापे हो भनिदिने गरेको छु ।’

कलाकार बन्न भन्दै भर्खरै काठमाडौं आउँदा उनले गरेको संघर्ष पनि कम पीडादायक छैन । तत्कालीन अवस्थामा अहिलेजस्तो सञ्चार माध्यमहरूको विकास भइसकेको थिएन । अहिले त मन परेको कलाकारहरुलाई फेसबुक, ट्वीटर र मोवाईलमै सम्पर्क गरेर भेट्न सकिन्छ । यादवले भने ‘त्यतिबेला त कलाकारलाई भेट्नै महाभारत हुन्थ्यो । मैले कलाकार प्रकाश ओझा र नाराद खतिवडालाई भेट्नकै लागि एक महिनासम्म कान्तिपुर टेलिभिजनको गेटमा कुरेको छु ।’



सन्तोष पन्तको निर्देशनमा प्रसारण हुने हिजो आजको कुरा नामक हास्य टेलिचलचित्रमा खेल्न उनले धेरैपटक अडिशनको लाइन बसे । धेरैपटक आफ्नो पालो नै नआउदै दिनभर लाइन बसेर साँझ घर फर्केको तीतो अनुभव छ उनीसँग । अवसरको आशामा उनले धेरै सिनियर कलाकर्मीको झोला बोकेर हिडे । हजार चोट खाएपछि पत्थर पनि मुर्ति बन्छ भनेझै, संघर्षबाट खारिदै आएका उनी आज प्रभावशाली कलाकारको रूपमा परिचित छन् ।

सरापे टर्निङप्वाइन्ट
पटक पटकको आग्रहपछि हास्य कलाकार प्रकाश ओझाले यादवलाई गाई कि त्रिशुल नामको टलिचलचित्रमा ब्रेक दिन तयार भए । यादवले सरापेको क्यारेक्टर सुनाए । तर ओझाले त्यसलाई रुचाएनन् । सरापीरहने क्यारेक्टर त दर्शकले के रुचाउलान् र ? ओझाले प्रश्न गरे । तर यादवले एकपटक गरी हेरौं दर्शकको प्रतिक्रियाअनुसार परिमार्जन गरौंला भनेपछि एक भागमा सरापेले खाफुले कल्पना गरेअनुसारकै एक सिन गर्ने अवसर पाए ।

आफुलाई रिस उठाउनेलाई अन्धाधुन्ध सराप्ने उनको क्यारेक्टर पहिलो भागबाटै दर्शकको नजरमा पर्यो । प्रकाश पनि उनको कामबाट प्रभावित भए । विस्तारै उनको भूमिका नै सिरियलमा मुख्य कलाकारको रूपमा प्रसारण हुनथाल्यो । टेलि सिरियलको नाम नै सरापे राख्न सुझावहरू आउन थाले । यसरी यादव दर्शकमाझ सरापेको रूपमा चर्चित बन्दै गए ।

किच्चड क्यारेक्टर
सरापे नै किन ? यादवलाई पनि सभ्य रोलबाटै प्रभावशाली भूमिका निभाउन चाहन्थे । केही टेलिचलचित्रमा उनले त्यो खालका भूमिका निभाएका पनि थिए । तर दर्शकमा त्यस्ता भूमिका नोटिस हुन नै नसक्ने देखियो । त्यतिबेला नाम चलेका कलाकारहरू सीताराम कट्टेल, केदार घिमिरे र हरिवंश आचार्यसम्मले पनि किच्चड क्यारेक्टरमार्फत नै दर्शकको मन जितिरहेका थिए । मलाई पनि अब किच्चड क्यारेक्टर नै गर्छु भन्ने सोच आयो । किच्चड नै गर्ने भएपछि महाकिच्चड क्यारेक्टर खोज्ने क्रममा सरापे जन्मिएको उनले सुनाए ।

पलायन
लामो सङ्घर्षबाट हास्य कलाकारको रूपमा चिनिदै गरेका यादव एकाएक यो क्षेत्रबाटै पलायन हुने स्थितिमा पुगे । तराई टेलिभिजनबाट प्रसारण भइरहेको गाई कि त्रिशुल बन्द भयो । तराई टेलिभिजन नै बन्द भएको कारण गाई कि त्रिशुलले दर्शकको मन जित्दाजित्दै पनि बन्द हुनेभयो । यादव फेरि कामविहिन भए । त्यति बेला अहिलेको जस्तो धेरै मेला–महोत्सवहरू हुँदैन थिए । कलाकारलाई अहिलेजस्तो सहज थिएन । त्यसैले उनी सिन्धुली नै फर्किए र निर्माण सामाग्री सप्लाईको काम आरम्भ गरे, यादवले सुनाए ।
कलाकारिताबाट पलायन भएका उनलाई सीताराम कट्टेलले फेरि ‘मेरी बास्सै’ मार्फत पुनरागमन गराए । मेरी बास्सैमा केवल ४ भागमा देखिएका यादवको माग देश विदेशमा बढ्न थाल्यो । भूकम्पको कारण देखाउदै मेरी बास्सै बन्द भएपनि यादवको व्यस्तता घटेन । मेला महोत्सव र देश विदेशका कार्यक्रममा उनी व्यस्त हुन थाले । उनले निभाएको सरापे भूमिकालाई दर्शकले अत्याधिक रुचाइदिए ।

‘सरापे कहिले परिवर्तन हुन्छ ?’
हाम्रो प्रश्न खस्न नपाउँदै उनले आफू पनि अन्य भूमिकासा देखिन चाहेको सुनाए । तर निर्माता र निर्देशकहरू आफूलाई सरापेकै रूपमा दर्शकले मन पराएकोले यसलाई फेर्ने जोखिम मोल्न तयार नभएको उनको गुनासो थियो । ‘म आशिक दिन चाहन्छु, दर्शक सराप नै रुचाउछन् , मलाई पूर्ण विश्वास छ, म अरू भूमिकामा पनि फिट हुनेछु, मसँग अन्य दुईवटा क्यारेक्टर पनि तयार छन् । एउटा मधेसी पात्र र एउटा साहित्यकारको पात्र । तर मलाई ती भूमिकामा खेलाउन निर्माता निर्देशक तयार छैनन् । मैले आग्रह गर्दा पनि तत्काल त्यो जोखिम नमोल्न सुझाव दिने गरेका छन् । ढिलो चाडो सरापेलाई विश्राम दिन्छु’ उनले बताए ।

तीज गीतमा भ्याईनभ्याई
असार महिना शुरू हुँदानहुदैदेखि यादव तीज गीतमा व्यस्त हुन थालेका छन् । साउनले आधाआधी पार गर्दासम्म उनले विश्राम लिन पाएका छैनन् । दैनिकजसो उनको अभिनय रहेको तीज गीतहरु युट्वमा सार्वजनिक भैरहेका हुन्छन् । कति गीतहरूले त ट्रेडिङ पनि कब्जा गरिसकेका छन् ।

उनको गाउँले पाराको लवज र शैली तीज गीतमा मिसाएको दर्शकले निकै रुचाएका छन् । त्यसैले त आजभोलि तीज गीत हेर्दा सरापे अनिवार्य जस्तै देखिन्छन् ।

कमाइ
कमाइको बारेमा यादव त्यति खुल्न चाहेनन् । उनले भने ‘कलाकारिताबाहेक मेरो अर्को पेशा छैन । यही पेशाले खान लाउन र परिवार पाल्न पुगेको छ । अहिलेको अवस्थामा यो पेशा छोडेर अन्य व्यवसाय गरौं या विदेश पलायन होऔं भनेर सोच्नुपरेको छैन । त्यो भन्दा ठूलो कमाइ त दर्शकको माया हो । दर्शकको अपार माया कमाएको छु । समग्रमा मलाई कलाकारिताले सन्तुष्टि नै दिएको छ ।’
बाँकी भिडियोमा

 

सम्बन्धित समाचार