कनिका कपूर अब अस्पतालको टाउको दुखाई !

कोरोनाको संक्रमण भएकी बलिवुड गायिका कनिका कपुर अस्पतालका लागि समेत टाउको दुखाइ बनेकी छन् । लखनउस्थित संजय गान्धी पिजिआई अस्पतालमा आइसोलेसनमा रहेकी कनिकाले अहिले अस्पतालमा आफ्नो स्टारडम देखाउन थालेपछि अस्पतालले विज्ञप्ति निकालेरै असन्तुष्टि व्यक्त गरेको छ ।

अस्पतालले कनिकालाई अस्पतालमा हर सम्भव सुविधा दिइएको भएपनि स्टारको जस्तो व्यवहार गरेको आरोप लगाएको छ ।  अस्पतालले कनिकालाई एयरकन्डिसन कोठा दिइएको र सरसफाइमा समेत राम्रो ध्यान दिइएकोमा उनले एक विरामीको नभएर स्टारको व्यवहार गरेको उल्लेख गरेको छ ।



उनले अस्पतालले दिएको खाना नखाने र उपचारमा सहयोग नगरेको बताएको छ । कोरोना संक्रमितलाई हरेक पटक घरबाट ल्याएर खाना खुवाउन सम्भव नभएपनि कनिका सो कुरा नबुझेर असहयोग गरेको अस्पतालले बताएको छ ।

साथै कनिकाको उपचारमा विशेष ध्यान दिन र राम्रो सुविधा दिन अस्पताल प्रशासनमाथि उच्च राजनीतक व्यक्तिहरुले दबाब दिएको समेत अस्पतालले बताएको छ । कोरोना फैलाएको आरोप लागेकी गायिका कनिकाविरुद्ध बिहारको एक अदालतमा मुद्धा दायर समेत भएको छ ।

अदालतमा कोरोना फैलाएको आरोपमा अतिरिक्त न्यायिक मजिस्ट्रेट सतिश चन्द्रसँग अधिवक्ता सुधिर कुमार ओझाले अपराधिक मुद्धा दायर गरेका हुन् । यस विषयको सुनुवाई मार्च ३१ मा हुने बताइएको छ । यस अघि कनिकाविरुद्ध लखनउमा प्रहरीमा एफआइआर दर्ता गरिएको थियो ।

कनिकाले लन्डनबाट लखनउ फर्केपछि उत्तर प्रदेशका स्वास्थ्यमन्त्रीसहित राजस्थानकी पूर्वमुख्यमन्त्री बसुन्धरा राजेसमेत विशिष्टहरु सहभागी भएको पार्टीमा सहभागी भएकी थिइन् । पार्टीमा सहभागी ४५ जनाको कोरोना टेस्ट निगेटिभ देखिएको छ । कनिका सभागी पार्टीमा सांसदहरु समेत सहभागी भएको र ती सांसदहरुको राष्ट्रपतिसँग समेत भेट भएको तस्वीर सार्वजनिक भएपछि स्थिति त्रसित बनेको थियो ।

अहिले प्रशासनले कनिका सहभागी कार्यक्रमको पहिचान गर्दै उनीहरुलाई क्वारेन्टाइनमा बस्न र टेस्ट गर्न निर्देशन दिएको छ । यस प्रकरणमा कनिका कपुरको समस्या बढिरहेको देखिएको छ ।

सम्बन्धित समाचार