नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।
चीनसँग सीमा विवादबारे छलफल चलिरहँदा भारतले शनिबार नयाँ क्षेप्यास्त्र परीक्षण गरेको छ । सौर्य मिसाइल नामको क्षेप्यास्त्र भारतले ओडिसाको तटबाट सफल रुपमा परीक्षण गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।
यस क्षेप्यास्त्रले ८ सय किलोमिटरको दुरी पार गर्दै मार हान्नसक्छ। नयाँ क्षेप्यास्त्र पहिलेभन्दा हलुंगो र प्रयोग गर्न सजिलो भएको समाचार संस्था एएनआईले जनाएको छ । लक्ष्यमा पुग्न अगाडि यो क्षेप्यास्त्र सुपरसोनिक स्पिड अर्थात् ध्वनीभन्दा तिव्र गतिमा उड्छ ।
चीनसँग सीमा विवादबारे छलफल चलेकै समयमा गतहप्ता मात्र भारतले अन्य क्षेप्यास्त्रहरु पनि परीक्षण गरेको थियो । भारतले माइनस ४० डिग्री सेल्सियसको चिसो तापक्रममा प्रयोग गर्न सकिने ट्यांक हतियार पनि गतहप्ता सार्वजनिक गरेको थियो ।