नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।
फेसबुकले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको पोस्ट हटाएको छ । उक्त पोस्टमा उनले कोभिड-१९ फ्लूभन्दा कम घातक भएको बताएका छन् । कोरोना पोजेटिभ पाइएपछि राष्ट्रपति ट्रम्पको तीन दिनसम्म अस्पतालमा उपचार चल्यो । उनी अहिले ह्वाइट हाउसमा फर्किसकेका छन् ।
ट्रम्पले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘फ्लू सिजनको साथमा बाँच्न सिक्नुहोस् । हुन त हामी कोभिडसँग बाँच्न सिकिरहेका छौं, धेरैजसो जनसंख्यामा यो निकै कम घातक छ ।’ ट्रम्पले ट्वीटरमा पनि यो सन्देश राखेका थिए । यसलाई ट्वीटरले लुकाई दिएको छ ।
उनको यो ट्वीटमा एउटा चेतावनी लेखिएको देखिएको छ जसमा यो भ्रामक र सम्भावित रुपमा हानिकार जानकारीयुक्त सन्देश बताइएको छ । प्रयोगकर्ताले चेतावनी पढेर क्लिक गरेपछि मात्रै उनको ट्वीट देख्न सक्ने छन् ।
यस्तै, फेसबुकका नीति सञ्चार प्रबन्धक एन्डी स्टोनले भने, ‘हामी कोभिड-१९ को गम्भीरताबारे गलत जानकारी हटाइदिन्छौं र हामीले यो पोस्ट पनि हटाइदिएका छौं ।’
हालसम्म कोभिड-१९ को सटिक मृत्युदर कति हो थाहा छैन तर जोन होपकिन्स युनिभर्सिटीका अनुसार यो धेरैजसो फ्लूको स्ट्रेनभन्दा १० गुणा पा त्योभन्दा बढी हुनसक्छ । फेसबुकले यसअघि पनि राष्ट्रपतिको पोस्ट हटाएको छ । यस्तै ट्वीटरले थुप्रै पटक उनको पोस्टलाई डिलिट गर्ने वा चेतावनी दिने जस्ता कारवाही गरिसकेको छ ।