एलपी पौड्याल
काठमाडौं, ५ माघ ।
विषय प्रवेश :
आमसञ्चार आजका मानिसको जीवनपद्दति एक हिस्सा बनिसकेको छ । पत्रिका र टेलिभिजनमा मात्र होइन, प्रत्येक व्यक्तिका हात हातसम्म सूचना र सन्देश पुग्ने वातावरण बनेकोले सूचना र सञ्चारबाट अलग्गिएर आधुनिक मान्छे एकछिन पनि रहन सक्तैन । विज्ञान तथा प्रविधिको उच्चतम् विकास र विस्तार तथा त्यसमा आम मानिसको सहज पहुँचले सूचना जीवनको अभिन्न अङ्गजस्तै बनिसकेको छ । सूचना र सञ्चारलाई मानिसको जिज्ञासा र चेतनासँग अभिन्न गराउने कार्य सञ्चारमाध्यमहरूले गर्दछन् । पछिल्लो समयमा सञ्चारमाध्यमहरूमा ठूलो लगानी हुँदै आएको पनि छ । यस्ता सञ्चारमाध्यमहरूलाई रक्त सञ्चार गराउने कार्य विज्ञापनले गर्दछ । छापा माध्यमहरूमा त दैनिक खर्चको केही प्रतिशत रकम पत्रिका बेचेर पनि संकलन हुनसक्छ तर विद्युतीय सञ्चारमाध्यमहरू तथा अनलाइन पोर्टलहरूले त खर्चको शतप्रतिशत रकम विज्ञापनबाट नै असुलउपर गर्नुपर्ने हुन्छ । अतः विज्ञापन विना सञ्चारगृहहरू बाँच्न सक्तैनन् भने सञ्चारगृहका अभावमा सूचना पाउने हाम्रो अधिकार सुरक्षित रहन सक्तैन । त्यसैले सूचना र विज्ञापनका बीच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ भन्दा अन्यथा हुँदैन ।
उत्पादित वस्तु वा उपलब्ध गराइने सेवाका बारेमा आवश्यक जानकारी गराई त्यसप्रति आम उपभोक्तालाई आकर्षित गराउने कार्य विज्ञापनले गर्दछ । अतः सञ्चारमाध्यममा प्रकाशित वा प्रसारित विज्ञापनले उपभोक्तालाई आवश्यक जानकारी वा सूचना प्रदान गरी सम्बन्धित वस्तु वा सेवाको बजार विस्तार गर्न ठूलो मद्दत गर्दछ भने सञ्चारगृहहरूले त्यसवापत विज्ञापनदाताहरूबाट निश्चित रकम प्राप्त गर्ने गर्दछन् । यसरी प्राप्त हुने रकमबाट नै सञ्चारगृहहरू जीवित र गतिशील भएका हुन्छन् । एक अनुमानित तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक रूपमा लगभग साढे छ अरबभन्दा माथिकोे विज्ञापनसम्बन्धी कारोबार हुने गरेको छ । यो आँकडा विगत वर्षहरूको तुलतनामा क्रमशः बढ्दो अवस्थामा छ । तर विज्ञापनको नियमन गर्ने आधिकारिक निकाय नहुँदा कुन कुन मिडियामा कति मात्रामा विज्ञापन जाँदैछ भनेर आधिकारिक रूपमा भन्न सकिने अवस्था छैन । अझ अनलाइन मिडियाहरूमा जाने विज्ञापनको त कुनै लेखाजोखा नै छैन ।
विज्ञापन सञ्चारगृहहरूको मेरुदण्ड नै हो । मेरुदण्ड कमजोर भयो भने सञ्चारगृहहरू धराशायी हुन समय लाग्दैन । तर आर्थिक लाभ हुन्छ भन्दैमा उपभोक्तलाई गुमराहमा पार्ने, भ्रमित तुल्याउने वा झुक्याउने खालका विज्ञापन सामग्री बनाइनु र आम सञ्चारका माध्यमहरूबाट त्यस्ता विज्ञापनहरूको प्रकाशन वा प्रसारण गरिनु राम्रो मानिँदैन । अतः उपभोक्ताहरूको गुणस्तरीय वस्तु किन्न पाउने वा सही सेवा छान्न पाउने अधिकार कुण्ठित नहोस भनेर कुनै पनि देशले विज्ञापन–सामग्रीको वैधता नियमन गर्ने विधि वा नियम बनाइएको हुन्छ, त्यसैलाई विज्ञापन आचारसंहिता भनिन्छ । एउटा सभ्य समाजमा प्रकाशन वा प्रसारण हुने विज्ञापनहरूमा केकस्ता सामग्रीहरू समावेश गर्नु वाञ्छनीय हुँदैन भनेर सरोकारवाला निकायले बनाएको नीति, नियम वा आन्तरिक अनुशासनलाई नै विज्ञापन आचारसंहिता भनिन्छ । पछिल्लो अवस्थामा नेपालमा पनि प्रखर रूमा विज्ञापन आचारसंहिताका बारेमा मात्र होइन, विज्ञापन नीतिका बारेमा कुराहरू उड्न थालेका छन्; यो आफैँमा महत्वपूर्ण कुरा हो ।
विज्ञापन–सामग्री कस्तो हुनुहुँदैन :
आमसञ्चारका माध्यमहरूबाट प्रकाशित वा प्रसारित हुने सामग्रीहरू कस्तो हुनुपर्छ भन्नु भन्दा पनि कस्तो हुनुहुन्न भन्ने कुराले बढी महत्व राख्दछ जुन देश, काल र समयसापेक्ष हुन्छ । हरेक जिम्मेवार सरकारले विज्ञापनका कारण आम उपभोक्ताहरूले सही वस्तु खरिद गर्न वा उचित सेवा लिनबाट वञ्चित हुनु नपरोस् भनेर विज्ञापन आचारसंहिता बनाई कडाइका साथ लागु गरेको हुन्छ । विशेष गरी विकसित मुलुकहरू यस्ता कुरामा बढी सचेत देखिन्छन् । विश्वका अधिकांश मुलुकहरूले आत्मसात् गर्ने गरेका केही महत्वपूर्ण विज्ञापनसंहितालाई सङ्क्षिप्त रूपमा प्रस्तुत गर्नु यस लेखको अभीष्ट हो ।
१) विज्ञापन सामग्री मुलुकको नियम–कानून र हित प्रतिकूल हुनुहुन्न ।
विज्ञापनमा प्रयोग हुने भाषा, शब्द, दृश्य, भावना तथा सन्दर्भ–सामग्रीहरू सम्बन्धित देशको नियम तथा कानूनको विपरीत हुनुहुँदैन । राष्ट्रिय हितभन्दा माथि व्यवसायिक हित हुन सक्तैन । अतः विज्ञापन सामग्री राष्ट्रिय हितविपरीत निर्माण गर्न र प्रचारप्रसार गर्न रोक लगाइको हुन्छ । विज्ञापन सामग्रीमा हत्या, हिंसा, रगत तथा नागरिकलाई अनावश्यक रूपमा भयभीत वा उत्तेजित पार्ने खालका चित्र वा सन्दर्भ–सामग्रीहरू पनि समावेश गरिनु राम्रो मानिँदैन ।
२) विज्ञापन सामग्री सामाजिक सद्भाव भड्काउने किसिमको हुनुहुन्न ।
हरेक समाजको आफ्नै खालको मनोविज्ञान हुन्छ । यही मनोवैज्ञानिक रसायनले समाजका विभिन्न वर्गहरू एक आपसमा मिलेर रहेका हुन्छन् । विज्ञापनका रूपमा प्रचार–प्रसार हुने सामग्रीले यस्तो सामाजिक सद्भाव र भाइचारको सम्बन्धलाई खलल् पु-याउनु हुँदैन । जातीय, क्षेत्रीय, भाषिक, वर्गीय तथा धार्मिक आस्थामाथि द्वन्द्व सिर्जना हुने विज्ञापन सामग्रीहरूलाई आमसञ्चारका माध्यमहरूमा स्थान दिइनु हुँदैन ।
३) विज्ञापन सामग्री उपभोक्तालाई भ्रमित पार्ने खालको हुनुहुन्न ।
विज्ञापन सामग्रीले सही सूचना वा जानकारी प्रदान गरी विज्ञापन गरिएका उत्पादन वा सेवाप्रति उपभोक्तालाई आकर्षित गर्नुपर्दछ । यस प्रयोजनका लागि बनाइने विज्ञापन सामग्री सीधा, स्पष्ट र विश्वासिलो हुनुपर्छ । विज्ञापन सामग्रीमा सामान्यतः अप्रमाणित रूपमा नम्बर वान, सतप्रतिशत, सर्वगुणसम्पन्न, सबैभन्दा ठूलो, सबैभन्दा पुरानो, सबैभन्दा उत्कृष्टजस्ता वाक्यांशहरू तथा ठोकुवा गरेका अभिव्यक्तिहरू (उदा. ‘१००∞ ग्यारेन्टी’ जस्ता वाक्य वा वाक्यांश) उल्लेख भएका सामग्रीहरूले उपभोक्ताहरूमा भ्रम पैदा गर्ने भएकोले यस्ता सामग्रीको प्रयोग गरिनु पनि राम्रो मानिँदैन । सम्बन्धित निकाय वा व्यक्तिको अनुमती नलिई कुनै संस्थाको नाम, लोगो, झण्डा वा फोटाको प्रयोग गरिनुलाई पनि संहिताविपरीत मानिन्छ ।
त्यस्तै, सम्पादकीय वा समाचार सामग्रीजस्तै देखिने गरी प्रकाशित सामग्रीहरू, विज्ञापनदाता नखुलेका विज्ञापनहरू, वास्तविकताभन्दा बढी बढाइ–चढाइ गरिएका सामग्रीहरू, अवैज्ञानिक र अन्धविश्वासलाई प्रश्रय दिएका सामग्रीहरू (उदा. त्रिकालदर्शी ज्योतिषी), सरकारी स्तरमा दर्ता नभएका तर कुनै संस्थाजस्तो नामबाट आकर्षक तलबको प्रलोभन देखाई गरिएका विज्ञापन सामग्रीहरू आदिले पनि आम उपभोक्तालाई भ्रमित पार्ने भएकोले यस्तो प्रकृतिका विज्ञापन सामग्रीहरू पनि सञ्चार माध्यमहरूबाट प्रकाशन वा प्रसारणका लागि उपयुक्त मानिँदैनन् । डाक्टर, इन्जिनियर तथा विशेषज्ञको रूपमा कसैलाई प्रयोग गरी निर्मित विज्ञापन सामग्रीहरूले समाजमा भ्रम सिर्जना गर्ने र उपभोक्तालाई मिस–गाइड गर्ने डर हुने भएकोले अप्रमाणित यस्ता सामग्रीहरूलाई पनि प्रकाशन प्रसारणका लागि योग्य मानिँदैनन् ।
४) समाज तथा उपभोक्ताप्रति जवाफदेही नभएका विज्ञापन सामग्रीहरू ।
विज्ञापन र समाज एक सिक्काका दुई पाटा हुन् । विज्ञापन सामग्रीको उत्पादन समाजमा नै हुन्छ र त्यसको प्रयोग समाजका लागि समाजमा नै हुने गर्छ । अतः विज्ञापन निर्माताहरूले विज्ञापन निर्माण गर्दा सामाजिक मनोविज्ञान, सामाजिक सरोकार, समाजको चेतनाको स्तरआदि कुरालाई ध्यान दिनु पर्दछ । विज्ञापन सामग्रीमा प्रयोग हुने शब्द, वाक्य वा सन्दर्भले त्यस समाजका सर्वसाधारण उपभोक्तादेखि बालकालिकाहरूको कलिलो मस्तिष्कमा नकारात्मक असर पार्न सक्ने भएकोले यस्ता कुराहरूलाई पनि ध्यान दिनु जरूरी मानिन्छ ।
५) अस्वस्थ विज्ञापन सामग्रीहरू ।
विज्ञापन सामग्रीहरू व्यवसायिक प्रतिस्पर्धाका लागि निर्माण गरिए पनि यस्ता विज्ञापन सामग्री सभ्य र स्वस्थ हुनुपर्छ । स्वस्थ प्रतिस्पर्धालाई सभ्य समाजले सहज रूपमा स्वीकार गर्दछ तर विज्ञापन सामग्रीहरू मानसिक कुण्ठा थोपर्ने माध्यम बन्नु हुँदैन । अतः विज्ञापनका माध्यमबाट आफ्नो उत्पादन वा सेवाको बजार विस्तार गर्ने बहानामा प्रतिस्पर्धी उत्पादन वा सेवालाई होच्याउने, गाली गर्ने, तौल वा गुणस्तरको तुलना गर्ने, अरूसँग मिल्दोजुल्दो नाम, ब्राण्ड वा लोगो प्रयोग गर्ने तथा रिसर्च वा सर्वेका अप्रमाणित तथ्याङ्कहरू प्रस्तुत गरी यसकारण यो ठीक र त्यो बेठीक भनिएका तथा आक्रमक किसिमले अभिव्यक्ति दिई निर्माण गरिएका विज्ञापन सामाग्रीहरूलाई पनि राम्रो मानिँदैन ।
६) सत्य, तथ्य तथा वास्तविकतामा आधारित नभएका विज्ञापन सामग्रीहरू ।
विज्ञापन सामग्रीमा अप्रमाणित र अनावश्यक तथ्याङ्क, संदिग्ध सन्दर्भ वा दाबी, पूरा गर्न नसकिने नारा, वाचा वा घोषणा तथा उपभोक्तालाई दिग्भ्रमित पार्ने किसिमका भनाइहरू राखिनु हुँदैन । उपभोक्ताहरूलाई भ्रमित पार्ने काल्पनिक तथ्याङ्कहरू तथा अवास्तविक कुरालाई बढाइ–चढाइ गरिएका विज्ञापन सामग्रीहरू पनि सभ्य समाजमा स्वीकार्य योग्य मानिँदैनन् । विज्ञापन सामग्रीहरू सत्य, तथ्य र वास्तविकतामा आधारित हुनु वाञ्छनीय मानिन्छ ।
७) अमर्यादित र अशुद्ध भाषा प्रयोग भएका विज्ञापन सामग्रीहरू ।
विज्ञापनमा भाषाको प्रयोग हुन्छ । भाषा अभिव्यक्तिको माध्यम मात्र होइन, यो कुनै देश, जाति वा समुदायको आत्मसम्मान र आत्म–गौरवको विषय पनि हो । अतः विज्ञापनमा भाषाको प्रयोग हुँदा धेरै सचेतता अपनाइनु पर्छ । त्यसै पनि नेपाल बहुभाषिक मुलुक हो । भाषिक दृष्टिले कुनै सम्प्रदायमा शिष्ट र सभ्य ठानिएको भाषा अर्को सम्प्रदायका लागि अशिष्ट, असभ्य र अमर्यादित हुन सक्दछ । विज्ञापन सामग्रीको निर्माण गर्दा भाषिक मर्यादाको ख्याल गर्न सकिएन र राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूबाट त्यस्ता विज्ञापन सामग्रीको प्रकाशन प्रसारण भयो भने त्यसले कुनै सम्प्रदायको स्वाभिमानमा चोट पु-याउने मात्र होइन, लज्जा वा घृणाले शिर निहुराउनु पर्ने अवस्थाको सिर्जना पनि हुन सक्दछ । यस्ता प्रयोगले कुनै सम्प्रदायको आत्मसम्मानमा आघात परी सामाजिक सद्भावसमेत खल्बलिन सक्छ । अतः सभ्य समाजमा भाषिक मर्यादाको पनि विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
भाषिक प्रयोगको अर्को पाटो पनि छ । भाषाका विद्यार्थी तथा बौद्धिक व्यक्तित्वहरूका लागि विज्ञापन सामग्रीमा प्रयोग हुने भाषाले पनि ठूलो प्रभाव पार्ने गर्दछ । अशुद्ध र असभ्य भाषाको प्रयोगले एकातिर त्यस्ता सामाग्रीहरूप्रति उपभोक्ताको नकारात्मक धारणा पैदा हुन्छ भने अर्कोतिर स्थापित सञ्चारका माध्यमहरूबाट प्रकाशन प्रसारण भएका विज्ञापन सामग्रीमा प्रयोग भएको भाषालाई पनि ती सञ्चारगृहको ब्राण्डसँग तुलना गरी शुद्ध र सत्य मान्दा गलत सिकाइ वा गलत बुझाइ हुने हुन्छ । भाषासँग मानव मस्तिष्कको मनोवैज्ञानिक सम्बन्ध रहने हुनाले विज्ञापन सामग्रीमा भाषाको प्रयोग गर्दा भाषिक मर्यादामा विशेष ध्यान पु-याउनु जरूरी मानिन्छ । अतः विज्ञापन सामग्रीहरूको निर्माण गर्दा भाषाको शुद्ध, शिष्ट र शालीन प्रयोगको अपेक्षा गरिन्छ ।
सरकारले चाहेमा आफ्नो देशको अनुकूलता वा प्रतिकूलताका आधारमा उल्लेखितबाहेक पनि केही बुँदाहरू थपघट गर्न सक्दछ । ठाउँअनुसार समाजको चरित्र र रहनसहन पनि फरक पर्ने भएकोले एउटै प्रकारको आचारसंहिताले विश्वव्यापी मान्यता पाउनुपर्छ भन्ने चाहिँ हुँदैन ।
सङ्क्षेपमा,
विज्ञापन सामग्रीको अभिप्राय उपभोक्तालाई सही सूचना प्रवाह गरी आफ्नो उत्पादन वा सेवाको बजार विस्तार गर्नु हो । अतः आम सञ्चारका माध्यमहरूबाट विज्ञापन सामग्री प्रकाशित वा प्रसारित हुँदा कुनै पक्षले आरोपित हुनुपर्ने, लज्जाबोध गर्नुपर्नेे, भ्रमित हुनुपर्ने वा साम्प्रदायिक सद्भावमाथि प्रहार हुने प्रकारको हुनुहुन्न । मुलुकको नीति नियमको परिधिभित्र रही मर्यादित रूपमा आफ्नो उत्पादन वा सेवाको प्रचार गर्न पाउनु लगानीकर्ताको नैसर्गिक अधिकार हो । तर आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकार सुरक्षित भयो कि भएन भनेर पनि ख्याल गरिनु पर्छ । यसको लागि विज्ञापन आचारसंहिताको आवश्यक पर्दछ । विज्ञापन–संहिताको परिपालना भयो भएन भनेर नियमन गर्ने प्रयोजनको लागि राज्यले एउटा अधिकारसम्पन्न प्राधिकरण वा विज्ञापन बोर्डको गठन गर्नु राम्रो मानिन्छ । सम्बन्धित क्षेत्रका विज्ञ तथा अनुभवी व्यक्तिहरू रहेको यस्तो संस्थाले विज्ञापन अचारसंहिता बनाउने, नियमन गर्ने र सीमा अतिक्रमण गर्नेलाई कानुनी दायराभित्र ल्याउने कार्य गर्ने छ । ढिलै गरी भएपनि नेपालमा पनि विज्ञापन बोर्डको स्थापना भइसकेको छ । बोर्डले आफ्नो कार्य कसरी सञ्चालन गर्ने छ, त्यो त भावी दिनहरूले बताउने छन् तर विज्ञापनदाता र विज्ञापनकर्ता दुबै व्यवसायिक मर्यादामा रहुन् भनेर बनाइने आन्तरिक अनुशासन नराम्रो विषय भने होइन् ।
आचारसंहिता आफूले आफैँलाई बाँध्ने विधान पनि हो, जुन सभ्य समाज निर्माणका लागि आवश्यक हतियार मानिन्छ । नेपाली समाजका सन्दर्भमा विज्ञापन आचार–संहिता कति आवश्यक वा कति सान्दर्भिक छ भन्ने कुरा छुट्टै समीक्षाको विषय पनि बनाउन सकिएला तर यो नयाँ कुरा भने पक्कै होइन; अन्तर्राष्ट्रिय जगत्मा वर्षौँदेखि यस्ता अभ्यासहरू भइरहेका छन् ।
सन्दर्भ–सामग्री :
सत्प्रयास १ र २ (स्मारिका), आनका प्रकाशनहरूलगायत विभिन्न अनलाइन तथा वेभसाइटहरूबाट ।