नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ चैत ।
त्रिकोणात्मक टी-ट्वान्टी सिरिज अन्तर्गतको तस्रो खेलमा नेपाल विजयी भएको छ । आज (बुधबार) भएको तेस्रो मलेसिया घरेलु टोली नेपालसँग ६ विकेटले पराजित हुन पुग्यो ।
किर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ११४ रन बनायो । मलेसियाको लागि जुबाइदी जुल्किफ्ले ३२ रन बनाए भने कप्तान अहमद फाजीले २४ रन जोडे । त्यस्तै सेइद अजिजले १४ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि कप्तान सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए भने, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी र अविनास बोहराको भागमा समान १-१ विकेट रह्यो ।
११५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १३.४ ओभरमा ४ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागि आशिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले भने दिपेन्द्र सिंह ऐरीले २१ रन बनाए । त्यस्तै दिलिप नाथ १५ रनमा अविजित रहे भने रोहितकुमार पौडेलले १२ रन जोडे । मलेसियाको लागि पवनदीप सिंहले २ विकेट लिए भने मुहम्मद अजिर र सयिद अजिजको भागमा समान १-१ विकेट रह्यो ।
पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको घरेलु टोली नेपालको लगातार दोस्रो जित हो । त्यस्तै पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई नै ८ रनले पराजित गरेको मलेसियाको भने सिरिजमा पहिलो हार हो । मार्च २८ देखि अप्रिल ४ सम्म हुने सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन् ।