नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा चेन्नई सुपर किङ्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ३ विकेटले पराजित गरेको हो । प्रतियोगितामा मुम्बईको यो लगातार सातौं हार हो भने चेन्नईको दोस्रो जित ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि तिलक वर्माले अविजित रहँदै ५१ रनको अर्धशतकीय पारी खेले भने सुर्यकुमार यादवले ३२ रन बनाए । त्यस्तै ऋतिक सोकिनले २५ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । चेन्नेईको लागि मुकेश चौधरीले ३ विकेट लिए भने ड्वायन ब्राभोको भागमा २ विकेट रहँदा मिचेल स्यान्टनर र महेश दिक्षानाले समान १-१ विकेट हात पारे ।
१५६ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नेईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नेईको लागि आम्बाती रायडुले ४० रन बनाए भने रोविन उथप्पाले ३० रन जोडे । यस्तै महेन्द्र सिंह धोनी २८ रनमा अविजित रहँदा ड्वेन प्रिटोरियसले २२ र सिवम दुबेले १३ रन जोडे । मुम्बईका लागि ड्यानियल स्यामले ४ विकेट लिए भने जयदेव उनाडकटले २ र रिले मेरेडिथको भागमा १ विकेट रह्यो ।
जितसँगै चेन्नई ७ खेलमा ४ अंक जोड्दै पुछारबाट दोस्रो स्थानमा छ भने ७ खेलमा अंकविहिन रहेको मुम्बई तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दै छन् ।