नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा लखनउले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको हो । प्रतियोगितामा मुम्बईको यो लगातार आठौँ हार हो भने लखनउको पाँचौं जित ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले अविजित रहँदै १०३ रनको शतकीय पारी खेले भने मनिष पाण्डेले २२ रन बनाए । त्यस्तै आयुस बाडोनी १४ रन बनाई आउट भए भने दीपक हुडाले १० रन जोडे । मुम्बईका लागि केइरन पोलार्ड र रिले मेरेडिथले समान २-२ विकेट लिए भने ड्यानियल स्यम्स र जस्प्रित बुम्रहाको भागमा समान १-१ विकेट रह्यो ।
१६९ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ रन बनाए भने तिलक वर्माले ३८ र केइरन पोलार्डले १९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । लखनउका लागि कुर्नाल पाण्डेयले ३ विकेट लिए भने जेसन होल्डर, आयुस बाडोनी, रबि बोस्नाई र मोशिन खानको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै लखनउ ८ खेलमा १० अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ भने ८ खेलमा अंक विहीन रहेको मुम्बई तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज पन्जाब किङ्ग्स र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् ।