नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । सोमबार राति भएको खेलमा पन्जाबले चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो । प्रतियोगितामा पन्जाबको यो चौथों जित हो भने चेन्नईको छैटौं हार ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको थियो । पन्जाबका लागि शिखर धवनले अविजित रहँदै ८८ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले ४२ रन बनाए । त्यस्तै लियाम लिभिङस्टोन १९ रन बनाई आउट भए भने मयाँक अग्रवालले १८ रन जोडे । चेन्नईका लागि ड्वायन ब्राभोले २ विकेट लिए भने महेश थेक्शनाको भागमा १ विकेट रह्यो ।
१८८ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायडुले ७८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै रुतुराज गायकवाडले ३० रन बनाए भने कप्तान रविन्द्र जडेजा २१ रनमा अविजित रहे । पन्जाबका लागि कागिसो रबडा र ऋषि धवनले समान २-२ विकेट लिए भने सन्दीप शर्मा र अर्शदीप सिंहको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै पन्जाब ८ खेलमा ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने ८ खेलमा ४ अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेंजर्स बैंगलोर र राजस्थान रोयल्स भिड्दै छन् ।