नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गुजरात टाइटन्स विजयी भएको छ । बुधबार राति भएको खेलमा गुजरातले सनराईजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो । प्रतियोगितामा गुजरातको यो सातौं जित हो भने हैदरावादको तेस्रो हार ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । हैदरावादका लागि अविशेक शर्मा र एडिन मार्कम्यानले अर्धशतकीय पारी खेल्दै क्रमश: ६५ र ५६ रन बनाए भने शशांक सिंह २५ रनमा अविजित रहे । गुजरातका लागि मोहमद शामीले ३ विकेट लिए भने यश डायल र अल्जारी जोसेफको भागमा समान १-१ विकेट रह्यो ।
१९६ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । गुजरातको लागि रिद्दिमान शाहले ६८ रनको अर्धशतकीय पारी खेले भने राहुल टेवाटिया ४० र राशिद खान ३१ रनमा अविजित रहे । त्यस्तै सुबमन गिल २२ रन बनाई आउट भए भने डेभिड मिलरले १७ रन जोडे । हैदरावादका लागि उम्रन मलिकले ५ विकेट लिए ।
जितसँगै गुजरात ८ खेलमा १४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ८ खेलमा १० अंक जोडेको हैदरावाद तेस्रो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स भिड्दै छन् ।