नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ भदौ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले विजयी भएको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले नटिङघम फरेस्टलाई ६-० को फराकिलो अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर सिटीलाई प्रभावसाली जित दिलाउन एर्लिङ हालाण्डले ह्याट्रिक गरे भने जुलियन अल्भारेजले दुई र जोआ कान्सेलोले एक गोल गरे।
एकतर्फी बनेको खेलमा खेलको १२ औं मिनेटमा हालाण्डले गोल गर्दै म्यानचेस्टर सिटीलाई अग्रता दिलाएका थिए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको २३ औं मिनेटमा हालाण्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
यस्तै ह्याट्रिक पूरा गर्ने क्रममा खेलको ३८ औं मिनेटमा हालाण्डको गोल मार्फत पहिलो हाफमा म्यानचेस्टर सिटी ३-० ले अघि रह्यो । खेलको ५० औं मिनेटमा कान्सेलोले गोल गर्दा सिटीको अग्रता ४-० मा पुर्याए । यसैगरी खेलको ६५ औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई ५-० को अग्रता दिलाए । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८७ औं मिनेटमा अल्भारेजले गोल गर्दै म्यानचेस्टर सिटीलाई ६-० को शानदार जित दिलाए ।
जितसँगै म्यानचेस्टर सिटी ५ खेल १३ अंक जोड्दै दोस्रो स्थानमा छ भने समान खेलमा ४ अंक जोडेको नटिङघम फरेस्ट १५ औं स्थानमा रहेको छ । त्यसैगरी बुधबार राति नै भएको अन्य खेलमा आर्सनलले एस्टन भिल्लालाई २-१ ले पराजित गरेको छ । जारी सिजनमा आर्सनलको यो लगातार पाँचौं जित हो । आर्सनल ५ खेलमा १५ अंक जोड्दै शीर्ष स्थानमा छ भने एस्टन भिल्ला ३ अंक जोडेर पुछारमा रहेको छ ।
त्यस्तै अर्को खेलमा लिभरपुलले पुनरागमन जित निकाल्दै न्युकासल युनाईटेडलाई २-१ ले पराजित गरेको छ । जितसँगै लिभरपुल ५ खेलमा ८ अंक जोड्दै पाँचौं स्थानमा छ भने समान खेलमा ६ अंक जोडेको न्युकासल युनाईटेड ११ औं स्थानमा रहेको छ । यसैगरी अर्को खेलमा टोटेनहम र वेस्ट ह्यामले १-१ गोलको बराबरी खेल्दा उल्भ्स र बर्नेमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।