नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ भदौ ।
केन्या टूरमा रहेको नेपालले घरेलु टोली केन्याविरुद्धको पहिलो एकदिवसीय खेलमा सुरुवातमा बलिङ गरेको छ । आज(शुक्रबार) केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा हुने खेलमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गरेको हो ।
नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुवात गर्ने योजनाको साथ मैदान उत्रदै छ भने घरेलु टोली केन्या पनि नेपाललाई हराउने सुरमा रहेको छ । यसअघि केन्याविरुद्धको भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नियमित टोलीका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएकाले एकदिवसीय सिरिजमा नेपालको कप्तानी उपकप्तान रोहित कुमार पौडेलले गर्ने छन् ।
केन्याविरुद्धको आज पहिलो एकदिवसीय खेल खेल्न लागेको नेपालले दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ । नेपालको प्लेईङ-११मा रोहित कुमार पौडेल(कप्तान), अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम रहेका छन् ।