केन्याद्वारा नेपाल सामू २१९ रनको लक्ष्य प्रस्तुत

पहिलो एकदिवसीय खेलमा घरेलु टोली केन्याले नेपाललाई जितका लागि २१९ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शुक्रबार) भएको केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा अलआउट हुँदै २१८ रनमा समेटिएको थियो ।

केन्याका लागि रकिप पटेल र कोलिन्स ओबुया अर्धशतकीय पारी खेल्दै क्रमश: ६७ र ६२ रन बनाए । त्यस्तै इरफान करिम ३१ रन बनाई आउट भए भने तथा सचिन बुदियाले २७ रन जोडे । नेपालका लागि सोमपाल कामी र करण केसीले समान ३-३ विकेट लिए भने आदिल आलम र पवन सर्राफको भागमा समान १-१ विकेट रह्यो ।



नेपाल एकदिवसीय सिरिजमा सुखद सुरुवात गर्ने योजनाको साथ मैदान उत्रदै छ भने घरेलु टोली केन्या पनि नेपाललाई हराउने सुरमा रहेको छ । यसअघि केन्याविरुद्धको भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नियमित टोलीका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएकाले एकदिवसीय सिरिजमा नेपालको कप्तानी उपकप्तान रोहित कुमार पौडेलले गरेका छन् ।

केन्याविरुद्धको आज पहिलो एकदिवसीय खेल खेल्न लागेको नेपालले दोस्रो एकदिवसीय भदौ १८ र अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ । नेपालको प्लेईङ-११मा रोहित कुमार पौडेल(कप्तान), अर्जुन साउद, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम रहेका छन् ।

सम्बन्धित समाचार