नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ भदौ ।
दोस्रो एकदिवसीय खेलमा नेपालले घरेलु टोली केन्यालाई जितका लागि २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (शनिबार) भएको केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रनमा समेटिएको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले भने देव खनालले ३७ रन बनाए । त्यस्तै सोमपाल कामी २६ रन बनाई आउट भए भने ज्ञानेन्द्र मल्लले २५ रन जोड्दा वसिर अहमदले १७ र आदील अन्सारीले १४ रन बनाए । केन्याका लागि भिराज पटेल, शेम एन्गोचे, नेहिमिह ओधियाम्बोले समान २-२ विकेट लिए ।
नेपाल एकदिवसीय सिरिजमा दोस्रो जित दर्ता गर्ने योजनाको साथ मैदान उत्रदै छ । नेपाल आज जित हात पार्दै एकदिवसीय सिरिज एक खेल अगाबै जित्ने योजनामा रहेको छ । यता घरेलु टोली केन्या पनि नेपाललाई हराउँदै पहिलो जित हात पार्दै सिरिज बराबरी गर्ने सुरमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो ।
यसअघि केन्याविरुद्धको भएको पाँच खेलको टी-२० अन्तराष्ट्रिय सिरिज नेपालले ३-२ ले आफ्नो पक्षमा पारेको थियो । नियमित टोलीका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज गएकाले एकदिवसीय सिरिजमा नेपालको कप्तानी उपकप्तान रोहित कुमार पौडेलले गर्ने छन् । केन्याविरुद्धको आज दोस्रो एकदिवसीय खेल खेल्न लागेको नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय भदौ २० मा खेल्नेछ ।
नेपालको प्लेईङ-११ मा रोहित कुमार पौडेल (कप्तान), अर्जुन साउद, देव खनाल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, पवन सरार्फ, मोहम्मद आदिल आलम, करण केसी, सोमपाल कामी, वसिर अहमद र साहब आलम रहेका छन् ।